जेनजी आन्दोलन, प्राकृतिक विपत्ति र उच्च दाबी भुक्तानीको चापबीच पनि नेपाली बीमा उद्योगले यस वर्ष उल्लेखनीय व्यापारिक वृद्धि कायम गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार चार महिनामै बीमा व्यवसायको आकार ७९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जो गत वर्षको सोही अवधिभन्दा १७.४६ प्रतिशत (११ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ) बढी हो।
गत वर्ष यस्तै अवधिमा बीमा कम्पनीहरूले जम्मा ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका थिए।
हाल देशभर १४–१४ वटा जीवन र निर्जीवन बीमा कम्पनी तथा ७ वटा लघु बीमा कम्पनीहरुमार्फत सेवा प्रदान भइरहेको छ। समिक्षा अवधिमा यी कम्पनीहरूले ३४ लाख ६१ हजार २० वटा बीमालेख बिक्री गरी सोही अनुसारको शुल्क आर्जन गरेका छन्।
जीवन बीमामा झनै तीव्र वृद्धि
प्राधिकरणका अनुसार जीवन बीमा व्यवसाय १८.६७ प्रतिशतले बढेर ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको कात्तिक मसान्तसम्म यो ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ मात्र थियो।
नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) त झनै तीव्र दरमा बढेको छ—२९.०२ प्रतिशत। कम्पनीहरूले चार महिनामा १४ अर्ब २० करोड ५९ लाख रुपैयाँ नयाँ व्यवसाय भित्र्याए। नविकरण बीमामा पनि १६ प्रतिशत वृद्धि देखिएको छ, जसबाट ४९ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ आर्जन भएको छ।
जीवन बीमालेख बिक्री ३२.५४ प्रतिशतले बढेर २४ लाख २९ हजार ४७ पुगेको छ। सक्रिय जीवन बीमालेखको संख्या पनि १६.५४ प्रतिशतले उक्लिएर १ करोड ६० लाख ६३ हजार ४७८ पुगेको छ।
निर्जीवन बीमा पनि दोहोरो अंकमा उक्लियो
निर्जीवन बीमा व्यवसाय चार महिनामा १२.९३ प्रतिशतले बढेर १६ अर्ब २१ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तै अवधिमा १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ आर्जन भएको थियो।
कम्पनीहरूले यस अवधिमा १० लाख ३१ हजार ९७३ निर्जीवन बीमालेख बिक्री गरेका छन्, जुन गत वर्षको तुलनामा ३.३४ प्रतिशत बढी हो।
बीमा पहुँचमा ऐतिहासिक सुधार
देशको कुल जनसंख्यामा बीमाको पहुँच हाल ४९.४८ प्रतिशतमा पुगेको छ। गत वर्ष यो दर ४२.९२ प्रतिशत मात्र थियो। यद्यपि अझै ५०.५२ प्रतिशत जनसंख्या बीमा सुरक्षा दायराबाहिर रहेको प्राधिकरणले जनाएको छ।
रोजगार र कार्यालय संख्या दुवै बढे
बीमा उद्योगमा कार्यरत जनशक्तिको संख्या एक वर्षमा ४५७ ले बढेको छ। हाल देशभर १२ हजार २७५ व्यक्ति बीमा क्षेत्रमा कार्यरत छन्—निर्जीवन बीमामा ६,२३४ र जीवन बीमामा ६,०४१।
यसैगरी, देशभर बीमा कम्पनीका कार्यालय संख्या ३ हजार पुगेका छन्, जसले सेवा विस्तार र पहुँच विस्तारमा योगदान पुर्याएको प्राधिकरणको निष्कर्ष छ।
