यशोदा फुड्समा ‘ग्रीन पावर’ सुरू, नेपालमै पहिलो सौर्य–नुडल्स प्लान्ट

करेन्ट नुडल्सका निर्माता तथा स्न्याक्स उद्योगका अग्रणी यशोदा फुड्सले दिगोपनाको यात्रामा ऐतिहासिक कदम चाल्दै चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार प्रणाली जडान गरेको छ। २३ नोभेम्बर २०२५ देखि व्यवसायिक रूपमा सौर्य ऊर्जा उत्पादन सुरू भएसँगै कम्पनी नेपालकै पहिलो सौर्य ऊर्जामार्फत सञ्चालन हुने नुडल्स उद्योग बनेको छ।

यसको साथमा यशोदा फुड्सले “नेपालकै पहिलो ग्रीन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी”को उपाधि हात पार्दै कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य ऊर्जा अपनाउने पहिलो उद्योगको पहिचान बनाएको छ। रूफ–टप सोलार परियोजनाबाट कम्पनीको कुल औद्योगिक ऊर्जा आवश्यकताको करिब ८०% पूरा हुने, विद्युत खर्च ६५% ले घट्ने र निष्क्रिय छानाको सदुपयोगसँगै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अनुमान गरिएको छ।

यो परियोजना नेपालकै अनुभवी सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिले इपीसीका रूपमा निर्माण गरेको हो। आवश्यक वित्तीय सुविधा एनएमबी बैंक लिमिटेडले उपलब्ध गराएको थियो। साथै जर्मन अनुदान डीकेटीआई परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी)ले व्याज अनुदानसहित सहयोग प्रदान गरेको छ।

उद्घाटन समारोह डिसेम्बर २ मा चन्द्रौटा प्लान्टमै आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले भने, “८५६ केडब्ल्यूपी क्षमताको यस प्रणालीले हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन गर्नेछ र २,००० टनभन्दा बढी सीओटू उत्सर्जन कम गर्नेछ। यसले उत्पादन लागत घटाएर हामीलाई अझ प्रतिस्पर्धी बनाउने छ, साथै उपभोक्ता र स्टेकहोल्डरहरूलाई थप मूल्य प्रदान गर्न मद्दत गर्नेछ।”

एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले भने, “यस्ता परियोजनाले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ धकेल्ने स्पष्ट संकेत दिएको छ। जर्मन सहयोगमार्फत सरकारको समर्थनले भविष्यमा यस्ता परियोजनाको प्रभाव अझ दिगो बन्नेछ।”

प्राइम रिन्यूएवल्सका अध्यक्ष आशिष गर्गले परियोजना तीन महिनाभित्र सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भने, “उच्च दक्षताका बाइफेसियल सोलार प्यानल, अत्याधुनिक पीभी प्रविधि र एआई–सक्षम स्मार्ट इनभर्टर प्रयोग गरिएको यो परियोजना समयमै हस्तान्तरण गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ।”

सौर्य ऊर्जा विश्वभर दिगो, सस्तो र वातावरण–मैत्री ऊर्जाको मुख्य विकल्प बन्दै गइरहेको बेला नेपालमा पनि उद्योगहरूले रूफ–टप समाधानलाई तीव्र रूपमा अपनाइरहेका छन्। एईपीसीका अनुसार हालसम्म २५ मेगावाट संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगमा यस्ता प्रणाली स्थापना भइसकेका छन् र संख्या तीव्र गतिमा बढ्दो छ।

नेपाल जलविद्युतमा धनी भए पनि सुख्खा मौसममा नदीको वहाव घट्दा सौर्य ऊर्जा अत्यन्त उपयोगी वैकल्पिक स्रोत बनेको प्राधिकरणहरूको निष्कर्ष छ। नेपाल विद्युत प्राधिकरण (एनईए)ले औद्योगिक रूफ–टप परियोजनालाई नेट–मिटरिङ सुविधा उपलब्ध गराइरहेकाले अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडमा जडान गर्न सकिन्छ। यसले वितरण र प्रसारण प्रणालीमा पर्ने भार कम गर्दै देशमा नवीकरणीय ऊर्जा प्रवर्द्धनलाई थप बलियो बनाइरहेको छ।