थाइल्याण्डमा २०२६ को बुद्ध जयन्ती विशेष अवसर पारेर ‘लुम्बिनी–नेपाल मिनी म्याराथन’ आयोजना हुने भएको छ। नेपाल राजदूतावास, थाइल्याण्डका अनुसार पवित्र लुम्बिनी–भगवान गौतम बुद्धको जन्मस्थलको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यसहित म्याराथन कार्यक्रम आगामी मे महिनाको तेस्रो सातामा आयोजना गरिनेछ।
मिनी म्याराथनमा १० किलोमिटर र ५ किलोमिटरको दुई दूरी समेटिनेछ। कार्यक्रम सफल बनाउन नेपाल राजदूतावासले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो।
उक्त कार्यक्रममा नेपाल एयरलाइन्स, एनआरएनए थाइल्याण्ड राष्ट्रिय समन्वय परिषद्, नेपाली मूलका व्यक्तिहरूको संस्था, थाइ–नेपाल एशोसिएसन, थाइ–नेपाल फ्रेन्डसिप एशोसिएसन, थाइल्याण्डस्थित संयुक्त राष्ट्रसंघका निकायमा कार्यरत नेपाली, नेपाल र थाइल्याण्डका उद्यमी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
अन्तरक्रियामा नेपाल–थाइल्याण्ड मैत्री सम्बन्धका लागि काम गरिरहेका संस्थाहरूको प्रतिनिधित्व रहने गरी ‘मिनी म्याराथन आयोजन समिति’ गठन गर्ने निर्णय गरिएको राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार यो कार्यक्रमले लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न, नेपालको पर्यटन प्रवर्द्धन गर्न, नेपाली खानाको स्वाद, नेपाली सांस्कृतिक सम्पदा तथा निर्यातयोग्य वस्तुहरूको बजार विस्तारमा सहायता गर्ने अपेक्षा गरिएको छ।
