राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आज सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भएका छन्। भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि प्रसाईंले पटक–पटक आन्दोलनको धम्की दिएका थिए, तर आन्दोलनमा व्यापक नागरिक सहभागिता नदेखिँदा उनले समय–समयमा कार्यक्रम स्थगित गर्दै आएका थिए। केही दिन सरकारले उनलाई थुनामा पनि राखेको थियो।
प्रसाईंले सिधै प्रधानमन्त्रीसँग वार्ता गर्न चाहेको देखाउँदै भाषण गर्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले उनलाई मंसिर २२ गते वार्तामा उपस्थित हुन पत्राचार गरेका थिए।
यसअघि मंसिर १२ मा उनले सिंहदरबारमै गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका थिए। त्यहाँ उनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतासम्बन्धी जनमत संग्रहका साथै २७ बुँदे माग गृहमन्त्रीलाई बुझाएका थिए।
उक्त आग्रह अनुसार आज दिउँसो प्रधानमन्त्रीसँगको भेटवार्ता तय गरिएको हो, जसमा प्रसाईंले आफ्ना भनाइ र मागहरू प्रत्यक्ष राख्ने अपेक्षा गरिएको छ।
