अमेरिकी ट्रम्प प्रशासनले भिसा प्रक्रियामा कडाइ गर्दै गएको वर्षको तुलनामा दोब्बर भिसा रद्द गरेको अमेरिकी राज्य विभागले जनाएको छ। विभागका अनुसार जनवरीदेखि ११ महिनासम्म सबै श्रेणीका गरी ८५,००० भिसा खारेज गरिएको हो, जसमा ८,००० भन्दा बढी विद्यार्थी भिसा परेका छन्।
भिसा खारेजीको यो दर अमेरिकाभित्र आप्रवासी निगरानी कडा बनाउने तथा देशमा प्रवेश गर्ने व्यक्तिहरूको योग्यतामा उच्च स्तरको छानबिन लागू गर्ने सरकारी अभियानसँग जोडिएको बताइएको छ। विभागका अनुसार मापसे गर्दै गाडी चलाउने, चोरी, कुटपिटजस्ता कानुनी उल्लंघनका कारण गत वर्षका करिब आधा भिसा रद्द भएका हुन्। बाँकीमा भिसा अवधि सकिनु, तथा केहीमा आतंकवादसम्बन्धी जोखिम मूल्यांकनका आधारमा कदम उठाइएको उल्लेख छ।
राज्य विभागले ५५ लाखभन्दा बढी वैध भिसा राखेकाहरूलाई लक्षित गर्दै निरन्तर छानबिनका प्रक्रिया अघि बढाएको छ। ट्रम्प प्रशासनको दोस्रो कार्यकालसँगै एच–१बी जस्ता उच्च दक्ष श्रमिक भिसामा समेत कडाइ गर्दै, कन्टेन्ट मोडरेसनदेखि फ्याक्ट–चेकिङ क्षेत्रमा कार्यरत विदेशी नागरिकलाई आवश्यक परे भिसा अस्वीकार गर्न सकिने प्रावधान लागू गरिएको हो।
यसअघि परराष्ट्रमन्त्री मार्को रुबियोले “अमेरिकीहरूलाई सेन्सर गर्ने” गतिविधिमा संलग्न विदेशीहरूलाई भिसा प्रतिबन्ध लगाउने नीति घोषणा गरेका थिए। त्यसैगरी, अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसा आवेदनकर्ताको अमेरिका, यसको संस्कृति वा शासनप्रति नकारात्मक दृष्टिकोण देखिएमा अस्वीकार गर्न सकिने निर्देशन दिइएको थियो।
नयाँ नियम अनुसार विद्यार्थीहरूले आफ्ना सोसल मिडिया प्रोफाइल सार्वजनिक राख्नुपर्ने, र अनलाइन गतिविधिको कमीलाई “सूचना लुकाउने प्रयास” का रूपमा व्याख्या गर्न सकिने उल्लेख छ।
राज्य विभागसँगै अमेरिकी गृह सुरक्षा विभागले पनि यही अवधिमा निगरानी, हिरासत र निर्वासन प्रक्रियालाई सुदृढ बनाउँदै आएको छ। बाइडेन प्रशासनअन्तर्गत आएका शरणार्थीहरूको भिसा पुनरावलोकन तथा पुनर्स्थापना कार्यक्रम पनि लगभग रोकिएको छ।
यससँगै, अमेरिकाले यो वर्ष १९ देशका नागरिकका लागि यात्रामा अतिरिक्त प्रतिबन्ध लागू गरेको छ, जसले अमेरिकी भिसा नीतिमा बढ्दो सुरक्षा सतर्कता झल्काउँछ।
