सर्वोच्च अदालतको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा फर्किएका छन् । आज बुधबार उनले विद्युत प्राधिकरणको दरबारमार्ग स्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।
सर्वोच्च अदालतले सोमबार उनलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःबहालीको आदेश दिएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलाशले शाक्यका पक्षमा परमादेश जारी गरेको थियो।
सरकारले गत असोज ५ गते शाक्यलाई कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा सरुवा गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले उनलाई गैर कानूनी तबरले हटाईएको भन्दै पुनर्बहालीको आदेश दिएको हो।
अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकलाई सो पदबाट हटाउनु पर्दा नेपाल प्राधिकरण कार्यकारी निर्देशक या महाप्रबन्धकको सेवाको गर्त तथा सुविधासम्बन्धी विनियावली २०६१ वा निजसँग गरिएको कार्यसम्पादन सम्झौतामा उल्लिखित प्रकृया र आधारमा हटाउन सकिनेमा सो बमोजिमको कुनै पनि प्रकृया अवलम्बन नगरी उक्त पदबाट हटाएको देखिँदा निजलाई सो पदबाट हटाउने विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन आएको भनेको छ।
