वार्षिक ५ हजार गाडी उत्पादन क्षमता, ४ सयलाई रोजगारी दिइरहेको लक्ष्मी हुन्डाई

लक्ष्मी मोटर कर्पोरेशनले अहिले नेपालमा हुन्डाईका क्रेटा र भेन्यूको एसेम्बल गरिरहेको छ । नवलपरासीस्थित प्लान्टबाट अहिले क्रेटा र भेन्यू उत्पादन भइरहेका छन् । सुरुमा भेन्यू मात्रै बनाइरहेको लक्ष्मी मोटर कर्पोरेशनले गत वर्षको चैतबाट क्रेटाको पनि उत्पादन थालेको हो ।

लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलियाका अनुसार नेपालमै एसेम्बल भएका गाडी आयात गरिएका गाडीको तुलनामा ९ लाखसम्म सस्ता छन् । आयात गरिएको क्रेटा टप भेरियन्टको मूल्य ८८ लाखसम्म थियो भने नेपालमै एसेम्बल भएको क्रेटाको मूल्य ७९ लाखसम्म मात्रै छ ।

भेन्यूमा पनि आयातको तुलनामा यहीँ एसेम्बल भएको गाडी ५ लाखसम्म सस्तो रहेको थपलियाको भनाइ छ ।
अहिले उपभोक्तामाझ नेपालमै एसेम्बल भएको क्रेटाको माग उच्च छ । अहिलेसम्म लक्ष्मी मोटरले क्रेटा र भेन्यू गरेर कुल १५ सय युनिट गाडी नेपालमै एसेम्बल गरिसकेको छ । यसमा क्रेटाको संख्या ९ सय युनिट र भेन्यू ६ सय युनिट रहेका छन् ।

२०६६ सालबाट हुन्डाई कम्पनीका गाडी नेपाल भित्र्याउन थालेको लक्ष्मी ग्रुपले २०७६ सालमा नेपालमै गाडी एसेम्बल गर्न कम्पनी दर्ता गरेको थियो । यस अवधिमा प्लान्ट लगाउने काम सकेर कम्पनीले उत्पादन थालेको हो । १० बिघा क्षेत्रफलमा फैलिएको एसेम्बलिङ प्लान्टमा वार्षिक ५ हजार युनिट गाडी उत्पादनको क्षमता छ । हुन्डाईका दक्ष प्राविधिकद्वारा जाँच गरेर गाडी उत्पादन गरिन्छ ।

अहिले प्लान्टमा ४ सय जना जतिले रोजगारी पाएका छन् । यसमध्ये ३ सय जना प्रत्यक्ष रोजगार छन् । साथै, बुटवलको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट निस्किएको जनशक्ति अधिकांश त्यहीँ प्लान्टमा कार्यरत छन् । ‘सीटीईभीटीको आंगिक संस्थाका रुपमा बुटवलमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट पास आउट भएको अधिकांश जनशक्ति यहाँ खपत भएको छ । उनीहरुका लागि फिल्डको प्रयोगात्मक सिकाई पनि भएको छ ।’

हुन्डाईले नेपालमा गाडी एसेम्बल गर्न थालेको करिब २ वर्ष पश्चात अब नेपालमै उत्पादन भएका टायर, ब्याट्री लगायतका सामान प्रयोग गर्ने तयारी पनि अघि बढाएको छ । यसका लागि कोरियन गाडी उत्पादक हुन्डाईको मापदण्ड भने पूरा भएको हुनुपर्छ ।

‘टायर, ब्याट्री, प्लास्टिकका केही प्रोडक्टहरु र सिसाहरु नेपालमै बनेको प्रयोग गर्ने तयारी भइरहेको छ’ महाप्रबन्धक थपलियाले भने, ‘यसका लागि हामीलाई लोकल उत्पादन प्रयोग गर्न अनुमति पनि आइसकेको छ । तर, हुन्डाईको क्राइटेरिया मिट भएको हुनुपर्छ । अब निकट भविष्यमै हामी नेपालमै बनेका टायर, ब्याट्री लगायतका सामानहरु प्रयोग गरेर गाडी एसेम्बल गर्छौँ ।