नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सेयर बजारलाई बैंकहरूको दीर्घकालीन सुरक्षित लगानीका रूपमा सम्बोधन गर्दै पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा आयोजित पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै उनले लगानीकर्ताले बजारसँग सम्बन्धित फण्डामेन्टलहरू बुझ्नुपर्नेमा जोड दिए।
मिश्रका अनुसार लगानीको वातावरण मजबुत बनाउन आवश्यक जानकारी, बजारको स्थिरता, तथा उपलब्ध विकल्पहरूको गहिरो अध्ययन अनिवार्य हुन्छ। उनकाे भनाइमा यस्ता जानकारीहरूले लगानीकर्तालाई बजारको उतारचढावमा भावनात्मक नभई विवेकपूर्ण निर्णय लिन मद्दत गर्छ।
उदाहरणका रूपमा उनले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि केही महिनामा टेस्लाको सेयर मूल्य उल्लेख्य रूपमा बढेको घटनालाई उद्धृत गर्दै बजारका आधारभूत पक्षहरूलाई बुझेर मात्र लगानी गर्नुपर्ने उल्लेख गरे।
डेपुटी गभर्नर मिश्रले सेयर बजारलाई “दीर्घकालीन मूल्य सृजनाको महत्वपूर्ण माध्यम” भन्दै यसलाई सही विश्लेषणसहित हेर्ने हो भने बैंकदेखि व्यक्तिगत लगानीकर्तासम्म सबैका लागि सुरक्षित र दिगो क्षेत्र बन्न सक्ने निष्कर्ष प्रस्तुत गरे।
