मोहना–दैजी सडकमा नयाँ गति दिन ठेक्का समाप्त

हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडक खण्ड निर्माणका लागि गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौंस्थित बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) सँगको ठेक्का तोडिएको जानकारी दिएको हो।

आर्थिक वर्ष २०७३/७४ मा सम्झौता भएको यो परियोजनाअन्तर्गत करिब २० किलोमिटरमध्ये ५ किलोमिटर मात्र कालोपत्रे कार्य बाँकी थियो। निर्माण प्रगति करिब ८२ प्रतिशत पुगे पनि ठेकेदारले पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढाएपछि कार्यालयले ठेक्का रद्ध गर्न बाध्य भएको जनाएको छ।

सम्झौताअनुसार तोकिएको काम, समयसीमा, र कार्य प्रतिवद्धता पूरा नगरेको तथा साइट महिनौँदेखि ठप्प राखिएको भन्दै योजना कार्यालयले जेभीलाई गत १४ कात्तिकमा ‘किन ठेक्का नतोड्ने?’ भनी १५ दिने स्पष्टीकरण मागेको थियो। तर ठेकेदारबाट प्राप्त उत्तर ‘चित्तबुझ्दो नभएको’ हुँदा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्ध गर्ने निर्णय गरिएको हो।

कार्यालयका अनुसार ठेक्का सम्झौता उल्लङ्घन भएकाले कार्य सम्पादन जमानत जफत गरिनेछ। साथै, बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असूली गरिने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने तयारी गरिएको छ।

योजना कार्यालयले १५ दिनभित्र उपस्थित भई हालसम्मको भौतिक प्रगति र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारक मिलाउन निर्माण व्यवसायीलाई आग्रह गरेको छ। यदि ठेकेदार कार्यालयमा नआए सम्बन्धित प्रक्रिया कार्यालयले स्वयं अघि बढाउने सूचनामा उल्लेख गरिएको छ।