नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीहरूलाई समग्र २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको आधारमा लाभांश सिफारिस गरेको हो।
कम्पनीले कुल २१.०५ प्रतिशतले हुने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। यसअन्तर्गत ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ। बोनसले पूँजी मजबुत बनाउने र नगद लाभांशले शेयरधनीलाई प्रत्यक्ष फाइदा दिने भएकाले यो सिफारिस बजारमै आकर्षक देखिएको छ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २६औँ वार्षिक साधारण सभाबाट औपचारिक रूपमा पारित गरिनेछ। त्यसपछि शेयरधनीहरूले लाभांश प्राप्त गर्ने प्रक्रिया सुरू हुनेछ।
नेपाल लाइफले निरन्तर लाभांश वितरणमार्फत शेयरधनीमैत्री नीतिमा प्रतिबद्धता देखाउँदै आएको छ, र यस वर्षको सिफारिसले पनि कम्पनीको वित्तीय स्थायित्व मजबुत रहेको संकेत गर्छ।
