डेपुटी गभर्नर मिश्रः बैंकको लागि सबैभन्दा सुरक्षित लगानी सेयर बजार

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बैंकहरूको लागि सबैभन्दा सुरक्षित लगानीको माध्यम सेयर बजार भएको बताएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आयोजना गरेको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा उनले यस्तो धारणा प्रस्तुत गरेका हुन्।

मिश्रले लगानी अघि बजारको स्थिरता र उपलब्ध विकल्पहरूको पर्याप्त अध्ययन गर्नुपर्नेमा जोड दिँदै, यसले लगानीकर्तालाई बजारको उतारचढावमा बुद्धिमानीपूर्ण निर्णय लिन मद्दत गर्ने बताएका छन्। उनका अनुसार, सेयर बजारलाई दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्छ।

डेपुटी गभर्नर मिश्रले फन्डामेन्टल विश्लेषणको महत्व पनि औँल्याए। उनले उदाहरण दिँदै भने, “ट्रम राष्ट्रपति भएपछि अमेरिकामा टेस्ला कम्पनीको सेयर मूल्य तीन महिनापछि बढेको थियो। यसले देखाउँछ कि बजारका फन्डामेन्टलहरूलाई हेरेर मात्र लगानी गर्नुपर्छ।”

मिश्रले लगानीकर्तालाई आधारभूत जानकारीसहित बजारमा प्रवेश गर्न प्रेरित गर्दै, दीर्घकालीन र सुरक्षित लगानी प्रवृत्ति अपनाउन सुझाव दिएका छन्।