चाँदीमा नयाँ उर्जा: एआई प्रविधिदेखि वैश्विक बजारसम्म मूल्य झन् उकालो

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पछिल्ला केही महिनादेखि निरन्तर उकालो लाग्दै ऐतिहासिक उचाइमा पुगेको छ। यही साताभर मूल्यमा थप उछाल देखियो। बुधबार प्रतिऔन्स ६० अमेरिकी डलरमा कारोबार भएको चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा ६२ डलर नाघेर नयाँ रेकर्ड कायम भएको अन्तर्राष्ट्रिय विवरणहरूले देखाएका छन्।

यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिन थालेको छ। बिहीबार मात्र नेपालमा चाँदीको मूल्य तोलामा ३,८०५ रुपैयाँ पुगेर इतिहासकै नयाँ उचाइमा स्थापित भयो। सुन–चाँदी व्यवसायीहरूका अनुसार विश्व बजारमा भइरहेको तीव्र मूल्यवृद्धिले नेपाललगायत अन्य देशको बजारमा पनि प्रत्यक्ष प्रभाव पारेको हो।

किन बढ्दैछ चाँदीको आकर्षण?

विशेषज्ञहरूका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, अमेरिकी डलर कमजोर हुनु, सेयर बजार ओरालो लाग्नु र बैंक ब्याजदर घट्नुजस्ता कारणले लगानीकर्ताहरू सुरक्षित विकल्पको खोजीमा चाँदीतर्फ आकर्षित भएका छन्। पछिल्लो समय चाँदीले सुनभन्दा बढी प्रतिफल दिने सम्भावना देखिएपछि बजारमा यसको माग झनै बढेको छ।

उद्योग र प्रविधिका कारण मूल्यमा थप उछाल

अमेरिकी फेडरल रिजर्भले ब्याजदर घटाएसँगै प्रविधि उद्योगमा चाँदीको प्रयोग तीव्र वृद्धि भएको छ। विशेषगरी विद्युत् सञ्चारण, सेमीकन्डक्टर, सोलार प्यानल, ब्याट्री र इलेक्ट्रिक सवारीसाधन (EV) क्षेत्रका लागि चाँदी अत्यावश्यक सामग्रीका रूपमा उभिएको छ।

तर, चाँदीको आपूर्ति भने यसैअनुसार बढ्न नसक्दा मूल्यमा थप दबाब परेको विश्लेषण छ। विश्वकै ठूलो हिस्सा चाँदी सिसा, तामा वा सुन खननको सहउत्पाद भएकाले यसको उत्पादन अचानक विस्तार गर्न सम्भव छैन।

ट्रम्प प्रशासनको नीतिले प्रभाव

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिअन्तर्गत चाँदीमा समेत शुल्क लगाउने सम्भावनाले अमेरिकामा अग्रिम भण्डारण तीव्र बनेको छ। अमेरिकाले करिब दुई–तिहाइ चाँदी आयात गर्ने भएकाले शुल्कको डरले अमेरिकी उद्योगी–व्यवसायीले चाँदी खरिद बढाएपछि विश्वबजारमा आपूर्ति संकट चर्किएको र मूल्य झनै बढेको बताइन्छ।

एआई अर्थतन्त्रको ‘मुख्य धातु’ चाँदी

‘द सिल्भर इन्स्टिट्युट’ र ‘अक्सफोर्ड इकोनोमिक्स’ का ताजा रिपोर्टअनुसार एआई प्रविधि विस्तारसँगै चाँदी ‘एआई अर्थतन्त्र’ का लागि अपरिहार्य धातु बनेको छ। उच्च क्षमता भएका GPU, TPU, रोबोटिक्स, डेटा–सेन्टर, एज–डिभाइस र शक्तिशाली हार्डवेयरमा चाँदी प्रयोग अपरिहार्य भएकाले भविष्यमा यसको माग झनै तीव्र हुने अनुमान गरिएको छ।

तर जोखिम पनि छ

यद्यपि, चाँदीमा लगानी जोखिमरहित छैन। गोल्डम्यान स्याक्सका अनुसार चाँदी अत्यधिक औद्योगिक धातु भएकाले यसको मूल्य सुनभन्दा धेरै अस्थिर हुनसक्छ। केन्द्रीय बैंकहरूको ठूलो खरिद समर्थन नभएकाले चाँदी पूर्ण रूपमा ‘सुरक्षित आश्रय’ सम्पत्ति बन्न नसक्ने चेतावनी पनि दिइएको छ।

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार