कास्की सिद्दार्थ बैंकले पोखरामा सञ्चालन भइरहेको ‘ग्रासरुट टेनिस’का लागि आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेश टेनिस संघले पोखरा रंगशालामा सञ्चालन गरेको ‘ग्रासरुट टेनिस’ प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि बैंकले प्रत्येक वर्ष नगद दुई लाख सहयोग गर्दै आएको छ ।
आर्थिक सहयोगसँगै बैंकको पोखरा लेकसाइडस्थित शाखाका प्रबन्धक अनिरुद्र बरालले प्रशिक्षणमा रहेका ३० जना बालबालिकालाई शनिबार ट्र्याकसुट वितरण गरेका थिए । संघले बालबालिकाको क्षेत्रमा महत्वपूर्ण कार्य गरेकाले बैंकले सहकार्य गरेको बताउँदै यस्ता काममा बैंकले आउँदा दिनमा आफ्नो सहकार्यलाई निरन्तरता दिने बताएका थिए ।
संघका महासचिव चालिसेले बैंकले संघलाई प्रत्येक वर्ष दुई लाख आर्थिक सहयोग गर्दै आएको जानकारी दिँदै सो सहयोग गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रशिक्षणसँगै अन्य काममा खर्च गर्दै आएको बताए ।
सिद्दार्थ बैकले यसलगायत आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोगका कार्यहरूसमेत गर्दै आइरहेको छ ।
