लहानमा बीमा विस्तारको साझा प्रतिबद्धता

नेपाल बीमा प्राधिकरणको आयोजनामा सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालय प्रमुखहरूसँग बीमा क्षेत्रका समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीका सिरहास्थित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम तथा निर्देशिकाको पूर्ण पालना गर्दै बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिए। उनले बीमा क्षेत्रको दिगो विकास र पहुँच विस्तारका लागि प्राधिकरणका प्रदेश कार्यालयसँग समन्वय गर्दै गाउँघर तहसम्म पुगेर काम गर्नुपर्ने आवश्यकता औंल्याए। साथै कृषि तथा पशुपन्छी बीमाको विस्तारलाई प्राथमिकतामा राख्न उनले जोड दिए।

अन्तर्क्रियामा सहभागीहरूले बीमा कम्पनीहरूले अनुसन्धान तथा विकास (आरएन्डडी) मा लगानी बढाउनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने र सीमा क्षेत्रमा बीमा सचेतना बढाउन होर्डिङ बोर्डहरू राख्नुपर्ने सुझाव दिए। त्यस्तै कृषि बीमाको प्रवद्र्धनलाई विशेष महत्व दिनुपर्ने तथा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सम्बन्धित प्रदेशभित्रै खर्च गर्ने व्यवस्था हुनुपर्ने धारणा पनि सहभागीहरूले राखे।

कार्यक्रमले स्थानीय तहमा बीमा सेवाको पहुँच विस्तार, जनचेतना अभिवृद्धि र कृषि तथा पशुपन्छी बीमाको प्रवद्र्धनमार्फत बीमा क्षेत्रलाई अझ सुदृढ बनाउने दिशामा साझा समझदारी विकास भएको जनाइएको छ।