प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शुरु गर्यो ‘ई–पोलिसी लोन’

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ई–पोलिसी लोन’ सुरु गरेको छ । २८ मंसिरबाट स्थापनाको नवौँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यो योजना ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत डिजिटल माध्यमबाट बिमालेख धितो राखी ऋण लिन पाइनेछ । कम्पनीका सञ्चालक वीरेन्द्रजंग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शमशेर
पराजुली र भावना बलायरका साथै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलगायतले ‘ई–पोलिसी लोन’ सुरुवात गरेका हुन् । सिइओ प्रसाईंले ‘डिजिटल रूपान्तरणका पाइला’का रूपमा कम्पनीले बिमा क्षेत्रलाई आधुनिक प्रविधि अपनाएर अगाडि बढाएको बताए ।

उनले जुनसुकै स्थानबाट सहज सेवा प्रवाह गर्न यो पोलिसी ल्याइएको स्पष्ट पारे । यद्यपि, यो सेवा लिन बिमालेख कम्तीमा तीन वर्ष पूरा भएको, तीन वर्षको बिमाशुल्क तिरेको र बिमालेख चालू रहेको हुनुपर्नेछ भने केवाइसी तथा बैंक अकाउन्ट अद्यावधिक भएको हुनुपर्ने कम्पनीको भनाइ छ । सेवा कम्पनीको वेबसाइट तथा एप दुवैमा उपलब्ध हुने बताइएको छ । ‘ई–पोलिसी लोन’का साथै एआई च्याटबट, डायनामिक क्युआर, लग इन पोर्टल पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले तिखेदेवल, ललितपुरमा नि:शुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ ।