हिमालयन क्यापिटलको आठौँ वार्षिक साधारणसभाले पारित गर्यो लाभांश

काठमाडौं। हिमालयन क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । सो सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १५ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पारित गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष ०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाबारे प्रकाश पारेका थिए । सभामा गत आवका उपलब्धिको समीक्षासमेत गरिएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) परमेश्वर पन्तले संस्थाले प्रविधिको प्रयोग गर्दै आफ्ना सबै ग्राहकलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटलले मर्चेन्ट बैंकिङ सेवा दिँदै आएको छ । जसअन्तर्गत निक्षेप सदस्य, सेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवा रहेका छन् ।