जेनजी आन्दोलनका क्रममा घर, भवन र सवारीसाधनमा भएको क्षतिबापत बीमितहरूले हालसम्म सवा तीन अर्ब रुपैयाँभन्दा बढी बीमा भुक्तानी पाएका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार आन्दोलनबाट प्रभावित बीमितहरूलाई बीमा कम्पनीहरूले क्रमशः भुक्तानी दिइरहेका छन् ।
प्राधिकरणका अनुसार आन्दोलनका कारण ७१० वटा घर तथा भवनमा क्षति पुगेको भन्दै बीमा कम्पनीहरूमा दावी पेश गरिएको छ । सम्पत्ति बीमा अन्तर्गत कुल १९ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको दावी परेको भए पनि हालसम्म ३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
त्यस्तै, आन्दोलनबाट २३ सयभन्दा बढी सवारीसाधनमा क्षति पुगेको विवरण प्राधिकरणसँग छ । मोटर बीमा अन्तर्गत २ हजार ३०८ वटा दावी पेश भएका छन्, जसको कुल दावी रकम ३ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ रहेको छ । यसमध्ये हालसम्म १ अर्ब ८ करोड ६० लाख रुपैयाँ भुक्तानी सवारीसाधनका बीमितहरूले पाएका छन् ।
समग्रमा जेनजी आन्दोलनसँग सम्बन्धित क्षतिका लागि बीमा कम्पनीहरूमा २३ अर्ब ४४ करोड ६ लाख रुपैयाँ बराबरको ३ हजार ३०० वटा दावी पेश भएका छन् । ती दावीमध्ये हालसम्म ४ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । यसअनुसार कुल दावी रकमको १८.७० प्रतिशत भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा अन्तर्गत ५५ करोड ५५ लाख रुपैयाँ बराबरका २२५ वटा दावी पेश भएका छन् । यस शीर्षकमा हालसम्म ६ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यता, परिवहन बीमा अन्तर्गत १२ वटा दावीबाट १ करोड ६८ लाख रुपैयाँ बराबरको क्षति विवरण पेश भएकोमा बीमितहरूले ६६ लाख रुपैयाँ भुक्तानी पाएका छन् ।
अन्य बीमा शीर्षकअन्तर्गत पनि ३८ करोड ४० लाख रुपैयाँ बराबरको दावी परेको भए पनि यसतर्फ हालसम्म ४९ लाख रुपैयाँ मात्र भुक्तानी भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
प्राधिकरणका अनुसार बाँकी दावीहरू प्रक्रियामा रहेकाले आवश्यक कागजात र मूल्यांकन पूरा भएपछि थप भुक्तानी क्रमशः हुँदै जानेछ । यसले आन्दोलनबाट प्रभावित बीमितहरूलाई केही हदसम्म आर्थिक राहत पुगेको प्राधिकरणको ठहर छ ।
