लामो समयदेखि सुस्ताउँदै आएको निर्माण क्षेत्र पुनः उकालो यात्रातर्फ फर्किन थालेको छ । आर्थिक मन्दी, निर्माण सामग्रीको आयात तथा उत्पादनमा आएको गिरावट, आयोजना ढिलाइ र स्थगनका कारण थलिएको निर्माण क्षेत्र पछिल्ला महिनाहरूमा क्रमशः चलायमान बन्दै गएको हो ।
केही समयअघिसम्म निर्माण व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थासम्मको मनोबल कमजोर बनेको अवस्थामा थियो । तर, महिनौँसम्म निष्क्रिय रहेका निर्माणस्थलहरू पुनः सक्रिय हुन थालेका छन् । निर्माणजन्य गतिविधिमा गति आएसँगै बैंक तथा वित्तीय संस्थाबाट निर्माण क्षेत्रमा जाने कर्जा प्रवाह पनि उल्लेख्य रूपमा बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूको ऋण लगानी दोहोरो अंकले वृद्धि भएको छ । विशेषगरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेका भौतिक संरचनाको पुनर्निर्माण तीव्र हुनु र निर्माण सिजनले रफ्तार लिनु यसको मुख्य कारण मानिएको छ ।
राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म आइपुग्दा निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूको कुल ऋण लगानी २ खर्ब ११ अर्ब १४ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंकहरूले निर्माण क्षेत्रमा १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ लगानी गरेका थिए । एक वर्षको अवधिमा मात्रै बैंकिङ प्रणालीबाट निर्माण क्षेत्रमा २३ अर्ब २४ करोड ७५ लाख रुपैयाँ थप कर्जा प्रवाह भएको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार अधिकांश बैंकहरू निर्माण क्षेत्र चलायमान बनाउन सक्रिय देखिएका छन् । समिक्षा अवधिमा नेपाल एसबिआई, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकले भने निर्माण क्षेत्रको कर्जा घटाएका छन् । तर, यीबाहेकका अन्य सबै बैंकहरूले यस क्षेत्रमा जाने कर्जा उल्लेख्य रूपमा बढाएका छन् ।
निर्माण क्षेत्रमा सबैभन्दा ठूलो ऋण लगानी नबिल बैंक, लक्ष्मी सनराइज बैंक र एनआइसी एशिया बैंकको रहेको छ । राष्ट्र बैंकका अनुसार नबिल बैंकको निर्माण क्षेत्रको कर्जा २५ अर्ब ९१ करोड १९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.४१ प्रतिशत बढी हो ।
दोस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले निर्माण क्षेत्रमा २२ अर्ब ७० करोड ७७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले एक वर्षमा निर्माण क्षेत्रको कर्जा २५.४३ प्रतिशतले बढाएको हो । तेस्रो स्थानमा रहेको एनआइसी एशिया बैंकले पनि कर्जाको आकार २६.६४ प्रतिशत बढाएर २१ अर्ब ९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ ।
कर्जा वृद्धिदरका आधारमा भने सिटिजन्स बैंक अग्रस्थानमा रहेको छ । बैंकले निर्माण क्षेत्रको कर्जा ३९.८७ प्रतिशत बढाएर १७ अर्ब ५५ करोड १९ लाख रुपैयाँ पुर्याएको छ । दोस्रो स्थानमा एभरेष्ट बैंक रहेको छ, जसले यस्तो कर्जा ३५.६९ प्रतिशत बढाएर ४ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ ।
त्यस्तै, समिक्षा अवधिमा माछापुच्छ्रे बैंकको कर्जा ३२.५१ प्रतिशत, एनएमबि बैंकको ३०.४७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २३.२२ प्रतिशत, प्राइम बैंकको २१.८० प्रतिशत, नेपाल बैंकको १८.८७ प्रतिशत, ग्लोबल आइएमई बैंकको १७.२७ प्रतिशत, हिमालयन बैंकको ११.४४ प्रतिशत, सानिमा बैंकको ८.३१ प्रतिशत र प्रभु बैंकको ५.११ प्रतिशतले वृद्धि भएको छ ।
यता, नेपाल एसबिआई बैंकको निर्माण क्षेत्रको कर्जा ४८.१४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३.५४ प्रतिशत, कुमारी बैंकको ९.३७ प्रतिशत, सिद्धार्थ बैंकको ८.०९ प्रतिशत, कृषि विकास बैंकको २.६६ प्रतिशत र एनआइएमबि बैंकको २.२४ प्रतिशतले घटेको छ ।
