। गत सेप्टेम्बर ९ मा जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको बौद्धस्थित प्रहरी वृत्त भवन पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ । स्थानीय बासिन्दा तथा विभिन्न संघ–संस्थाको सहयोगमा निर्माण सम्पन्न भएको नयाँ भवनबाट आइतबारदेखि नियमित प्रहरी सेवा प्रवाह सुरु गरिएको हो ।
नयाँ कार्यालय भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आइतबार गरेका हुन् । उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौं प्रहरी परिसरका प्रमुख रमेश थापा लगायत प्रहरी अधिकारी, जनप्रतिनिधि र स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नेहरूमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले घटनामा संलग्न दोषी पहिचान गर्न सीसीटीभी फुटेज महत्वपूर्ण आधार बन्न सक्ने बताउँदै कानुनको शासन मजबुत बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे ।
आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी वृत्तलाई समुदायको सहयोगमा पुनर्निर्माण गरी सेवा सुचारु हुनु सकारात्मक सन्देश भएको वक्ताहरूको भनाइ थियो । नयाँ भवनबाट प्रहरी सेवा सुरु भएसँगै बौद्ध क्षेत्रका नागरिकले सहज र प्रभावकारी सुरक्षा सेवा पाउने विश्वास गरिएको छ ।
