सिन्धुलीमा साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिसँगको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको थियो।

कार्यक्रमको अध्यक्षता क्यान महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रेमनाथ मैनालीले गर्नुभएको थियो भने क्यान महासंघ केन्द्रिय वरिष्ठ उपाध्यक्ष चिरन्जिवी अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

कार्यक्रमका मुख्य वक्ता वन कभर प्राइभेट लिमिटेडका सीईओ चिरन्जिवी अधिकारीले नेपालमा बढ्दो साइबर सुरक्षा जोखिम र साइबर अपराधीहरूले अपनाउने रणनीतिहरूबारे गहिरो प्रस्तुति दिएक थिए। उनले व्यवसाय र सार्वजनिक संस्थाहरूमा साइबर अपराधको नकारात्मक प्रभावका वास्तविक उदाहरणहरू प्रस्तुत गर्दै तत्काल सक्रिय उपाय अपनाउनुपर्नेमा जोड दिए ।

प्राविधिक पक्षमा वन कभर प्राइभेट लिमिटेडका पेन टेस्टर इन्जिनियर राजन प्रजाजुलीले पेनेट्रेशन परीक्षणका अभ्यास र नेपाली संस्थाहरूले आफ्नो डिजिटल सुरक्षा बलियो बनाउन अपनाउन सक्ने व्यावहारिक उपायहरू साझा गरेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदी, क्यान वागमति प्रदेशका अध्यक्ष किरण श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बावुराम देवकोटा, न्यूटेरीक नेपाल कम्पनी र न्यू क्यापिटल कम्प्यूटर ट्रेडर्सका प्रतिनिधि तथा प्राविधिक टिम उपस्थित थिए।

कमलामाई, गोलन्जोर, तिनपाटन, हरिहरपुरगढी, घ्याङलेख र फिक्कल गाउँपालिकाका सूचना प्रविधि तथा आईटी अधिकृतहरू, क्यान सिन्धुलिका पदाधिकारी, सामुदायिक टेक्निकल कलेज र शिद्धबाबा माविका विद्यार्थी तथा शिक्षकहरूले उत्साहजनक सहभागिता जनाएका थिए।

कार्यक्रम सफलतापूर्वक सञ्चालनमा सहयोग पुर्‍याउने र सहभागी हुने सबैप्रति क्यान महासंघ जिल्ला शाखा सिन्धुलीका सचिव मिन बहादुर श्रेष्ठ (दीपक)ले हार्दिक कृतज्ञता व्यक्त गरेका थिए।