गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने उद्देश्य व्यक्त गरेका छन् । उनका सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा अक्षय गोल्याणले भने, “हामी एउटा नवीन र उत्कृष्ट गोल्याण ग्रुप निर्माण गर्नेछौं, जसले विश्वव्यापी प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्नेछ। यसमा हाम्रो देशप्रतिको जिम्मेवारी पनि प्रतिविम्बित हुनेछ।”
मंसिर २४ गते गोल्याण ग्रुपले आफ्नो वार्षिकोत्सव समारोहमा ३७ वर्षीय अक्षयलाई अध्यक्ष चयन गरिएको घोषणा गरेको थियो । अध्यक्ष चयन पश्चात आइतबार कर्मचारीहरूले उनलाई स्वागत तथा बधाइ ज्ञापन गरेका थिए। उनी सबैको सामूहिक प्रयासबाट अग्रणी व्यावसायिक संस्थाको रुपमा गोल्याण ग्रुपलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।
अक्षयले संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्याण र उपाध्यक्ष वासुदेव गोल्याणको मार्गनिर्देशनलाई सधैं शिरोपर गर्ने उल्लेख गर्दै भने, “तपाईंहरूले मप्रति देखाउनुभएको विश्वास र माया, संस्थाप्रतिको समर्पण र कामप्रतिको संघर्षले मलाई अझ उत्साही बनाएको छ।”
विश्वको उत्कृष्ट १० विश्वविद्यालयमध्ये स्पेनको ESADE यूनिभर्सिटीबाट व्यवसाय अध्ययनमा स्नातकोत्तर गरेका अक्षय ९ वर्षदेखि ग्रुपका प्रवन्ध निर्देशक थिए । संस्थापक अध्यक्ष पवन गोल्याणले अध्यक्षको जिम्मेवारी सुम्पिएसँगै अक्षयले कार्यकारी भूमिकासहित ग्रुपको समग्र नेतृत्व सम्हालेका छन्।
६५ वर्ष लामो विरासत बोकेको गोल्याण ग्रुपको नेतृत्व अब तेस्रो पुस्ताका प्रतिनिधि अक्षयले गर्नेछन् । हजुरबुवा सोहनलाल गोल्याणबाट सुरु भएको व्यवसाय बुवा पवन गोल्याण हुँदै अक्षयमा आइपुगेको हो।
गोल्याण ग्रुप उत्पादनमूलक उद्योग, नवीकरणीय ऊर्जा, कृषि र हस्पिटालिटी क्षेत्रमा बलियो उपस्थिति रहेको अग्रणी व्यावसायिक समूह हो । करिब १० हजार कर्मचारी कार्यरत यो ग्रुप ६० भन्दा बढी ग्लोबल मार्केटमा सक्रिय छ र वार्षिक कारोबार ४ सय मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ। नयाँ नेतृत्वमा ग्रुपको विकास र प्रवर्द्धन हुने विश्वास गरिएको छ।
