गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगलागी भएको चन्द्रागिरि हिल्स (केबलकार)ले आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने भएको छ।
कम्पनीका सचिव झलकराज शर्माका अनुसार सोमबार साँझ ४ बजे बसेको ८५ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.२६३२ प्रतिशत (४० लाख ३७ हजार रुपैयाँ) नगद लाभांश दिने पनि निर्णय गरेको छ।
बोनस शेयर पारितसहित कम्पनीले वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा पुस २३ गते बुधवार, बिहान ११ बजे चन्द्रागिरि हिल्स लिमिटेड बटम स्टेसन परिसर, थानकोटमा हुने भएको छ।
सभाको एजेन्डामा आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पारित, वासलात, आय–व्यय हिसाब, नगद प्रवाह विवरण लगायतका विषयहरू छलफल गरी पारित गर्ने व्यवस्था छ।
