बीमाबाट क्षति पुनःस्थापनामा बल

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले हालसम्म साढे ५ अर्ब रुपैयाँभन्दा बढी दाबी रकम बीमितहरूलाई भुक्तानी दिएका छन्। नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो अद्यावधिक तथ्याङ्कले यस्तो देखाएको हो।

जेन–जी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड हुँदा भवन, उद्योग, व्यापारिक संरचना तथा सवारी साधनहरूमा ठूलो क्षति पुगेको थियो। उक्त क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा करिब ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको दाबी परेको थियो। त्यसको आधारमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी ५ अर्ब १८ करोड रुपैयाँ बीमितहरूलाई भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त तथ्याङ्कअनुसार, सबैभन्दा बढी दाबी सम्पत्ति बीमा र मोटर बीमातर्फ परेको छ। सम्पत्ति बीमातर्फ ७१० वटा दाबी दर्ता भई करिब १९ अर्ब २ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म करिब ३ अर्ब ८२ करोड रुपैयाँ भुक्तानी भएको छ। त्यसैगरी, मोटर बीमातर्फ २ हजार ३११ वटा दाबी परेकामा करिब ३ अर्ब ४७ करोड रुपैयाँ दाबी रकममध्ये करिब १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा दाबी परेकामा करिब ५५ करोड ४७ लाख रुपैयाँ दाबी रकममध्ये करिब ७ करोड ५० लाख रुपैयाँ भुक्तानी भएको छ। परिवहन बीमातर्फ १२ वटा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँ दाबीमध्ये करिब १ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ। अन्य बीमातर्फ ४५ वटा दाबीमा करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिब ५ करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसहित वितरण गरिएको छ।

यसैबीच, जेन–जी आन्दोलनका क्रममा भएको क्षतिबापत पुनर्बीमा दाबी भुक्तानीमा पनि उल्लेख्य प्रगति भएको छ। नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई अग्रिम भुक्तानीसमेत गरी करिब ३ अर्ब २ करोड रुपैयाँ पुनर्बीमा दाबी भुक्तानी गरेको जनाएको छ।

नेपाल पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट २ हजार ८६२ वटा पुनर्बीमा दाबी परेको छ, जसको कूल दाबी रकम करिब १६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ।