शेयर बजारबाट ४ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिनामा शेयर बजारमार्फत सरकारलाई करिब ४ अर्ब रुपैयाँ राजस्व प्राप्त भएको छ। पुँजीगत लाभकर बापत मंसिर मसान्तसम्म सरकारको खातामा ४ अर्ब १ करोड ३१ लाख रुपैयाँ जम्मा भएको हो।

यद्यपि यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले पुँजीगत लाभकरबाट ९ अर्ब २० करोड २४ लाख रुपैयाँ संकलन गरेको थियो। यस आधारमा चालु वर्षको पुँजीगत लाभकर आम्दानी ५६.३९ प्रतिशतले घटेको देखिन्छ।

मंसिर महिनामा मात्रै सरकारलाई पुँजीगत लाभकर बापत ६३ करोड ९८ लाख रुपैयाँ प्राप्त भएको छ। गत वर्षको मंसिरमा भने यस्तो करबाट १ अर्ब ४ करोड रुपैयाँ संकलन भएको थियो।

शेयर बजारमा अपेक्षित उत्साह नदेखिनु यसको प्रमुख कारणका रूपमा देखिएको छ। चालु आर्थिक वर्षको सुरुवातमा साउन महिनामा ३ हजार २ विन्दुसम्म पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक हाल २ हजार ५ सयदेखि २ हजार ६ सय विन्दुको आसपासमा सीमित छ।

बजारमा रौनक नआउँदा दैनिक कारोबार रकम पनि उल्लेख्य रूपमा बढ्न सकेको छैन। त्यसका कारण शेयर कारोबारबाट नाफा आर्जन गर्ने लगानीकर्ताको संख्या घट्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव सरकारले पाउने पुँजीगत लाभकरमा परेको देखिन्छ।