लगानी प्रतिबद्धतामा उत्साहजनक संकेत

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो पाँच महिनामा नेपालमा झण्डै ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार मंसिर मसान्तसम्म ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो।

यस अवधिमा २८६ वटा उद्योग तथा कम्पनीले नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। ती लगानीबाट ३३ हजार ८१४ जनालाई रोजगारी सिर्जना हुने प्रतिबद्धता गरिएको विभागले जनाएको छ। समग्रमा हेर्दा हालसम्म ४३८ वटा उद्योग तथा व्यवसायले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंसिर महिनामा मात्र ५६ वटा कम्पनीले १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता गरेका छन्। यसबाट करिब १ हजार ४७० जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

पाँच महिनाको अवधिमा आएको लगानी प्रतिबद्धतामध्ये साना उद्योगको संख्या सबैभन्दा बढी रहेको छ। विभागका अनुसार ४२३ वटा साना, ८ वटा मध्यम र ७ वटा ठूला कम्पनीले लगानी प्रतिबद्धता गरेका छन्। मंसिरमा मात्रै ५४ वटा साना र २ वटा मध्यम उद्योगले लगानीको प्रतिबद्धता जनाएका हुन्।

क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा बढी उद्योगबाट लगानी प्रतिबद्धता आएको छ। पाँच महिनामा २३६ वटा आईटी कम्पनीले लगानी गर्ने प्रतिबद्धता जनाएका छन्, जुन कुल प्रतिबद्धताको ५४ प्रतिशत हो। यद्यपि लगानी रकमका आधारमा आईटी क्षेत्रको हिस्सा करिब ३ प्रतिशत मात्र रहेको छ।

आईटीपछि पर्यटन क्षेत्र लगानीको अर्को प्रमुख गन्तव्य बनेको छ। पर्यटन क्षेत्रमा १३५ वटा उद्योगले लगानी प्रतिबद्धता गरेका छन्, जुन कुल प्रतिबद्धताको ३१ प्रतिशत हो। लगानी रकमका हिसाबले पर्यटन क्षेत्रले २६ प्रतिशत हिस्सा ओगटेको छ।

कृषि क्षेत्रमा भने उद्योगको संख्या कम भए पनि लगानी रकम सबैभन्दा बढी आएको छ। कृषि क्षेत्रमा १३ वटा उद्योगले लगानी प्रतिबद्धता गरेका छन्, जुन संख्या अनुसार ३ प्रतिशत भए पनि लगानी रकमका आधारमा कुल प्रतिबद्धताको ५७ प्रतिशत हिस्सा रहेको छ।

अन्य क्षेत्रतर्फ सेवा क्षेत्रमा २८ वटा (६ प्रतिशत), उत्पादनमूलक क्षेत्रमा २६ वटा (६ प्रतिशत), ऊर्जा क्षेत्रमा १ वटा र खनिज क्षेत्रमा १ वटा उद्योगले लगानी प्रतिबद्धता गरेका छन्। पूर्वाधारमूलक उद्योगमा भने यस अवधिमा कुनै पनि लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ।

लगानी रकमका आधारमा उत्पादनमूलक क्षेत्रमा १ अर्ब ९७ करोड २३ लाख ५८ हजार रुपैयाँ, ऊर्जामूलक क्षेत्रमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, कृषिमूलक क्षेत्रमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ, पर्यटन क्षेत्रमा १० अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ र खनिज क्षेत्रमा ४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

त्यसैगरी, सेवामूलक क्षेत्रमा ३ अर्ब ३९ करोड ६० लाख रुपैयाँ र सूचना प्रविधिमूलक क्षेत्रमा ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।