हाल नेपाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको आवद्धता बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूले पर्याप्त कर्जा प्रवाह गर्न नसक्दा प्रणालीमा पैसा थुप्रिएको छ। यस अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निक्षेप संकलनमार्फत तरलता व्यवस्थापन गरिरहेको छ।
राष्ट्र बैंकले एक महिनाभित्र कुल ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ। आज मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने कार्यक्रम तय गरेको छ। यससँगै राष्ट्र बैंकले एक महिनाभित्र नौ पटक निक्षेप संकलन गरेको तथ्यांक छ।
मंसिर महिनामा मात्रै राष्ट्र बैंकले आठ पटक बैंकिङ प्रणालीबाट निक्षेप खिचेको थियो। मंसिर ३ गते ५० अर्ब, ७ गते ५० अर्ब, १० गते ३० अर्ब, १४ गते ४० अर्ब र १७ गते ६० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। त्यसैगरी २१ गते ९० अर्ब, २४ गते ४० अर्ब र २८ गते ३५ अर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकले खिचेको थियो।
निक्षेप संकलनको बोलकबोल ब्याजदरअनुसार निर्धारण हुने गर्दछ। राष्ट्र बैंकले आवश्यक परे बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सक्ने जनाएको छ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन्।
