काठमाडौँ/ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको सुलभ र सहज आपूर्ति गर्दै आएको छ।
स्थापनाकालदेखि नै नुन कारोबारमा सक्रिय रहेको कर्पोरेसनले दुर्गम तथा पहुँचविहीन २२ जिल्लासम्म पनि मागअनुसार वार्षिक करिब एक लाख क्विन्टल नुन आपूर्ति गर्दै आएको जनाएको छ।
साल्ट ट्रेडिङका अनुसार सरकारबाट प्राप्त कार्यादेशअनुसार आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरणलाई प्राथमिकताका साथ अघि बढाइएको छ। देशभर आयोडिन नुनको वार्षिक माग दुई लाख टनभन्दा बढी रहेकामा कर्पोरेसनले सुलभ मूल्यमा सहज रूपमा नुन उपलब्ध गराउँदै आएको छ।
नुनको आपूर्तिमा कुनै पनि किसिमको अभाव नआओस् भन्ने उद्देश्यका साथ कर्पोरेसनले कम्तीमा छ महिनाको माग धान्ने परिमाण नियमित रूपमा मौज्दातमा राख्ने व्यवस्था मिलाएको छ। यसले आकस्मिक परिस्थितिमा समेत नुन आपूर्तिमा अवरोध नआउने विश्वास कर्पोरेसनले व्यक्त गरेको छ।
सरकारकै प्रत्यक्ष निगरानी र नियन्त्रणमा नुनको कारोबार रहेकाले मूल्यवृद्धि हुन नपाएको बताइएको छ। यसले सर्वसाधारण उपभोक्तालाई सुलभ मूल्यमा गुणस्तरीय आयोडिनयुक्त नुन उपलब्ध गराउन सहयोग पुगेको मन्त्रालयले जनाएको छ।
