जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले ब्याजदर बढाएर ३० वर्षयताकै उच्च स्तरमा पुर्याएको छ। बैंकले दुईदिने मौद्रिक नीति बैठकपछि छोटो अवधिको ब्याजदर ०.५ प्रतिशतबाट बढाएर ०.७५ प्रतिशत कायम गरेको हो। यससँगै जापानको नीतिगत ब्याजदर सन् १९९५ पछिको उच्चतम बिन्दुमा पुगेको छ।
सन् १९९५ मा मूल्यह्रास र आर्थिक मन्दीसँग जुधिरहेको बेला जापानले उच्च ब्याजदर लागू गरेको थियो। त्यसयता पहिलोपटक बैंकले यति उच्च ब्याजदर कायम गरेको हो। लामो समयदेखि जारी व्यापक मौद्रिक सहजता र शून्य नजिकको ब्याजदरको अन्त्यतर्फ यो ऐतिहासिक कदम मानिएको छ।
बैंक अफ जापानले जारी गरेको विज्ञप्तिमा ब्याजदर वृद्धि गर्ने निर्णय सर्वसम्मत भएको उल्लेख गरिएको छ। बैंकले आगामी दिनमा अर्थतन्त्रको अवस्था अपेक्षाअनुसार रहे थप ब्याजदर बढाउन सकिने संकेत पनि दिएको छ।
यद्यपि ०.७५ प्रतिशतको ब्याजदर अन्तर्राष्ट्रिय स्तरमा अझै कम मानिन्छ, जापानको लागि यो ठूलो नीतिगत परिवर्तन हो। दशकौँसम्म बैंकले व्यवसाय र उपभोक्तालाई खर्च तथा लगानी बढाउन सस्तो ऋण नीति अपनाउँदै आएको थियो।
विश्लेषकका अनुसार जापानको अर्थतन्त्र पछिल्लो त्रैमासिकमा वार्षिक २.३ प्रतिशतले संकुचित भए तापनि व्यवसायिक विश्वासमा सुधार र वस्तु तथा सेवाको मूल्यमा निरन्तर दबाब बढेपछि बैंक ब्याजदर बढाउन तयार भएको हो।
हालै जापानी येन कमजोर भएको र आयातित खाद्यान्न, इन्धन तथा कच्चा पदार्थको मूल्य वृद्धि हुँदा उपभोक्ताको जीवनयापन खर्च र उद्योग व्यवसायको लागत उच्च भएको छ। मुद्रास्फीति लामो समयदेखि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहँदा र तलब वृद्धिको गति अपेक्षाअनुसार नहुँदा घरेलु बजेटमा दबाब सिर्जना भएको छ। यही अवस्थालाई ध्यानमा राख्दै बैंक अफ जापानले ब्याजदर वृद्धि गर्ने निर्णय गरेको हो।
