नेपाल धितोपत्र बोर्डका नयाँ सदस्य पिताम्बर भण्डारीले शपथ ग्रहण गरेका छन्। बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार उनलाई स्वागत गर्दै औपचारिक शपथ ग्रहण गराएका हुन्। अन्य बोर्ड सदस्यहरूले समेत भण्डारीलाई स्वागत तथा शुभकामना व्यक्त गरेका छन्।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(छ) अनुसार योग्यता पुगेका विज्ञहरूबाट नेपाल सरकारले बोर्ड सदस्य मनोनयन गर्ने व्यवस्था छ। सोही प्रक्रिया अनुसार पिताम्बर भण्डारीलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो।
बोर्डमा नियुक्त भएसँगै भण्डारीलाई रिलायन्स स्पीनिङ मिल्सको शेयर बुक बिल्डिङ्ग प्रक्रियाबाट निष्कासन गरिएको साधारण शेयर (IPO) सम्बन्धी छानबिन समितिमा सदस्यको जिम्मेवारी दिइएको छ।
छानबिन समितिको संयोजकत्व बोर्ड सदस्य विनोद कुमार भट्टराईले गर्नेछन् भने अर्को सदस्यमा बोर्डकै सदस्य आनन्द राज शर्मा वाग्ले रहेका छन्। पिताम्बर भण्डारीलाई शपथ ग्रहण भएकोै दिनै यस्तो महत्वपूर्ण जिम्मेवारी दिइएको हो, जसले बोर्डमा सक्रिय भूमिका निर्वाह गर्ने संकेत गर्दछ।
