काठमाडौँ । जेन्जी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेन्जी समूहहरूको संयुक्त बैठकले संयुक्त जेन्जी आन्दोलनको घोषणा गरेको छ ।
२०८२ साल पुस ५ गते ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेन्जी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो ।
बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेन्जी अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैठकले आन्दोलनलाई थप प्रभावकारी र संगठित बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गर्दै मिरज ढुंगाना, अजय सोडारी,सुनिल सिंह, विजय शाह, सुरेन्द्र घर्तीलाई त्यसको जिम्मेवारी सुम्पिएको छ । यस्तै, आन्दोलनलाई वैचारिक र रणनीतिक दिशानिर्देश दिन सल्लाहकार रवि किरण हमाल र हरिस भट्ट रहनेछन् ।
बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावना, बलिदान र अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्ष निकालेको छ । सहभागी अभियन्ताहरूले सरकार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र र दमनको बाटोमा उन्मुख भएको आरोप लगाएका छन् ।
सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक संकट समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकले सार्वजनिक गरेको छ ।
बैठकको निष्कर्षसँगै संयुक्त जेन्जी आन्दोलन समितिले सरकारविरुद्ध सडक संघर्षलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार आन्दोलनका आगामी कार्यक्रम र राजनीतिक मागहरू सार्वजनिक गर्न भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिने जेनजी अगुवा विजय शाहले बताएका छन् ।
पत्रकार सम्मेलनमार्फत हाल सडकमा रहेका सबै जेन्जी अभियन्ता, आन्दोलनका घाइते र शहीद परिवारलाई एउटै आन्दोलनमा समेट्दै संयुक्त रूपमा सरकारविरुद्ध प्रदर्शनलाई देशव्यापी बनाउने रणनीति सार्वजनिक गरिने बताइएको छ । संयुक्त जेन्जी आन्दोलन समितिले यो संघर्ष कुनै व्यक्ति वा समूहविरुद्ध नभई, असफल शासन प्रणाली, राजनीतिक स्वार्थ र जनभावनाविपरीत उभिएको राज्यसत्ताविरुद्ध भएको स्पष्ट पारेको छ ।
