नबिल बैंकको साधारण सभा पुस २८ मा, आकर्षक लाभांश प्रस्ताव

नबिल बैंक लिमिटेडले आफ्नो ४१औँ वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरिएको लाभांश पारित गर्न सभा आयोजना गर्न लागेको हो।

साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ः१५ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अधिकार दिने, संस्थापक शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

साधारण सभा र लाभांश वितरणको प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र सभा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।