भोटखोला–सिम्बोक्पा डाँडामा 4G सेवा सुरु

भोटखोला गाउँपालिकाको सिम्बोक्पा डाँडामा नेपाल टेलिकमको 4G सेवा सुरु भएको छ। नेपाल टेलिकमको बेस ट्रान्सिभर स्टेशन (BTS) सञ्चालनमा आएपछि स्थानीयहरूले आधुनिक सञ्चार सुविधाबाट लाभ पाउन थालेका छन्।

खाँडबारीस्थित नेपाल टेलिकमका प्रमुख प्रेम राइले जानकारी दिए कि, सिम्बोक्पा डाँडामा लामो समयदेखि सञ्चार सुविधा नहुँदा जनताले कठिनाइ भोग्दै आएका थिए र 4G सेवा सुरु हुनु ठूलो उपलब्धि भएको बताए।

टावर स्थापना गर्ने कार्य टेलिकम इञ्जिनियर आशिष आचार्यको नेतृत्वमा, गाउँपालिकाको वडा नं २ का अध्यक्ष जिप्पा भोटे, नेपाली सेना र स्थानीयजनको समन्वयमा सम्पन्न भएको हो। टाढा र कठिन पहाडी भौगोलिक परिस्थितिका बाबजुद टोलीले टावर सफलतापूर्वक स्थापना गरी 4G सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ।

साथै, भोटखोला गाउँपालिका–१ किमाथाङ्का क्षेत्रमा पनि चाँडै आधुनिक सञ्चार सेवा उपलब्ध गराइने जानकारी दिइएको छ।