काठमाडौं/ नबिल बैंकले युरोमनी ट्रान्जेक्सन बैंकिङ अवार्ड–२०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्जेक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ ।
ट्रान्जेक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह दिएको भन्दै बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्जेक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको बताइएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यो अवार्डबाट नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको बताए । विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ ।
सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्छ । यो अवार्ड विश्वका सयवटा देशमा सञ्चालन हुँदै आएको छ ।
