नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको वार्षिक साधारण सभा पौष १८ गते हुने

agm bonus

काठमाडौं । नेपाल डेरी एसोसिएसन अन्तर्गत बागमती प्रदेशको वार्षिक साधारण सभा यही पौष १८ गते शुक्रबार बिहान ११ बजेदेखि ललितपुरस्थित डिलाइट पार्टी प्यालेसमा हुने भएको छ।

नेपाल डेरी एसोसिएसनको केन्द्रीय महाधिवेशन आगामी माघ ६ र ७ गते काठमाडौंमा सम्पन्न हुने कार्यक्रम रहेको छ। केन्द्रीय महाधिवेशनअघि नै सातै प्रदेशको वार्षिक साधारण सभा सम्पन्न गर्न केन्द्रले निर्देशन जारी गरेअनुसार सबै प्रदेशमा साधारण सभा सञ्चालन भइरहेको छ।

केन्द्रीय महासचिव हेमचन्द्र खनालका अनुसार सोही निर्देशनअनुसार हालसम्म कोशी, कर्णाली प्रदेशले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन् भने सुदूरपश्चिम प्रदेशमा पौष १९ गते र लुम्बिनी प्रदेशमा पौष १३ गते साधारण सभा सम्पन्न हुने कार्यक्रम रहेको छ। अन्य प्रदेशहरूमा पनि छिट्टै साधारण सभा सम्पन्न हुने जानकारी महासचिव खनालले दिए।

बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेका अनुसार बागमती प्रदेशमा हाल १५० भन्दा बढी सदस्य रहेका छन्। उनले वार्षिक साधारण सभा अगावै सबै सदस्यहरूको नवीकरण सम्पन्न गरिने र हरेक वर्षझैं यस वर्ष पनि केन्द्रीय निर्देशन पूर्ण पालना गरिने जानकारी गराए।

यस वर्षको वार्षिक साधारण सभामा विभिन्न विधाअन्तर्गत सम्मान कार्यक्रमसमेत आयोजना गरिने भएको छ। बागमती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेलका अनुसार दीर्घ सेवा सम्मान, उत्कृष्ट जिल्ला सम्मान, उत्कृष्ट किसान सम्मान तथा उत्कृष्ट पत्रकार सम्मान प्रदान गरिनेछ।

त्यसैगरी बागमती प्रदेशका सहसचिव टंक तिमल्सिनाका अनुसार यस पटकको साधारण सभामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, मकवानपुर, धादिङ र सिन्धुली जिल्लाबाट विशेष सहभागिता रहने अपेक्षा गरिएको छ।