रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा अत्याधिक आबेदन,पर्न सक्ने आसा कति ?

काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ३२.९९ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन  शुक्रबारसम्ममा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त आईपीओ खुलेको पाँच दिन अर्थात् बन्द हुँदासम्म कुल ५ लाख ८३ हजार ८९६ जनाले ३ करोड ५ लाख ४ हजार ८०० कित्ताको लागि आवेदन दिएका हुन् ।

बैंकहरुमा भौतिक रुपमा आएको आवेदनहरुलाई आज रातिसम्म नै इन्ट्री गर्न सकिने भएकोले आवेदकको संख्या अझै बढ्न सक्छ । कम्पनीले पुस ७ गतेदेखि आज पुस ११ गतेसम्मको अवधि तोकेर आम सर्वसाधारणलाई ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो ।

नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातकर्ता कम्पनी रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय गरिएको थियो । बुक विल्डिङ विधिबाट निष्काशन गरिएको आईपीओ भएकोले यस आईपीओमा आवेदन दिंदा न्युनतम कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । लगानीकर्ताले न्यूनतम ५० कित्ता मात्रै आवेदन गर्दा पनि कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्न आउँछ । खुलेको ४० मिनेटमै कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन परेको थियो ।

शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

यो कम्पनी धागो उत्पादन गर्ने नेपाल कै ठूलो उद्योग हो । कम्पनीले उत्पादन गर्ने ७० प्रतिशत धागो विदेशमा निर्यात हुँदै आएको छ ।

मागभन्दा अत्यधिक बढी आवेदन परेका कारण धेरै आवेदकहरू सेयर प्राप्त गर्नबाट वञ्चित हुने देखिएको छ । किनभने रिलायन्स स्पिनिङ मिल्सको एक कित्ता सेयरका लागि लगानीकर्ताले ३३ कित्ताको माग गरेका छन् । सेयर बाँडफाँट गोलाप्रथामार्फत गरिने भएकाले थोरै संख्यामा रहेका भाग्यशाली १८ हजार ४९५ लगानीकर्ताहरूले मात्र सेयर हात पार्नेछन् ।