काठमाडौं । डिजिटल बैंकिङ सेवामा सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यका साथ एनएमबी बैंकले ‘मल्टि–फ्याक्टर अथेण्टिकेसन’ प्रणाली लागू गरेको छ। यस प्रविधिमार्फत अब ग्राहकले आफ्नो खाता सुरक्षित राख्न पासवर्डसँगै इमेल वा एसएमएसमार्फत प्राप्त हुने ओटीपी, पिन कोड वा सुरक्षासम्बन्धी प्रश्नको प्रयोग गर्न सक्नेछन्।
बैंकका अनुसार यस प्रणालीले अनधिकृत कारोबार रोक्न सहयोग गर्नेछ भने अनलाइन तथा मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा प्रयोगकर्तालाई थप विश्वसनीयता र सुरक्षाको अनुभूति गराउनेछ। डिजिटल कारोबार बढ्दै गएको वर्तमान अवस्थामा साइबर जोखिम न्यूनीकरण गर्न यो प्रविधि प्रभावकारी हुने विश्वास बैंकले व्यक्त गरेको छ।
एनएमबी बैंकले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै ग्राहकको वित्तीय सुरक्षालाई उच्च महत्व दिँदै आएको जनाएको छ। बहु-स्तरीय प्रमाणीकरण प्रणालीमार्फत सुरक्षित, सहज र भरपर्दो बैंकिङ अनुभव प्रदान गर्ने लक्ष्य बैंकको रहेको छ।
