कांग्रेस निर्वाचनबाट भाग्दैन् तर वातावरण बनाउनुपर्छ : डा.कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काङ्ग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् ।

मंगलबार मोरङ्ग समाज, काठमाडौं (मोसोका) को २६ औं वार्षिक साधारण सभामा उनले निर्वाचनबाट एउटा लोकतान्त्रिक पार्टी हार्न सक्ने सम्भावना भएपनि आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताए ।

प्रहरी प्रशासनको मनोबल गिरेको अवस्थामा निर्वाचनको लागि सरकारले केही काम त गर्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘देशमा निर्वाचन हुने अवस्था छ कि छैन् भन्ने प्रश्न महत्वपूर्ण छ । हामी निर्वाचनबाट भाग्दैनौं । एउटा लोकतान्त्रिक पार्टी हार्छ वा हार्नसक्छ तर निर्वाचनबाट भाग्दैनौं । तर निर्वाचनको लागि सरकारले केही काम त गर्नु पर्यो, शान्ति सुरक्षा दिन सक्नुपर्यो । शान्ति सुरक्षा छ कि छैन् भन्ने कुरा प्रहरी प्रशासनमा निर्भर गर्छ र प्रहरी प्रशासनको मनोबल आजको दिनमा धेरै नै गिरेको छ ।’

नेपाली सेना तेस्रो घेरामा मात्रै बस्ने तर बुथमा सुरक्षा दिने भनेको प्रहरी नै भएकाले उनीहरुको मनोबल बढाउनुपर्ने पनि उनको भनाई छ ।
साथै, उनले एमाले र नेपाली काङ्ग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन नभएको भन्दै अब के के हुन सक्छ त्यो कुरामा विचार गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकार हटाउनको लागि मात्रै जेनजी आन्दोलन भएको र जेनजीहरुले ज्यान गुमाएको हो त ? एमाले र नेपाली काङ्ग्रेसको सरकार हटाएर निर्वाचन गराउन मात्र आन्दोलन भएको हो त ? होइन नि । त्यो विद्रोह आधा मात्र भएको छ । आधा हुन बाँकी नै छ र त्यसमा के के हुनसक्छ त्यो कुरा हामीले विचार गर्नु पर्छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं,पूर्वकेन्द्रीय सदस्य रामकृष्ण भट्टराई, मोरङ समाज काठमाडौका अध्यक्ष ओम मास्केलगायतले आफ्नो धारणा राखेका थिए ।