समृद्धिका लागि साझा संवाद

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा हुने उक्त संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेन–जी), नागरिक समाज तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

महासंघका अनुसार संवादको मुख्य उद्देश्य राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि तथा मुलुकको विकासमा युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्नु रहेको छ। मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि सबै सरोकारवालाबीच सहमति र सहकार्यको आधार तयार पार्न संवाद आयोजना गरिएको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरण बिना लगानी सम्भव नहुने बताए। “यही कारणले महासंघले सरकार, राजनीति, निजी क्षेत्र र युवालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो,” उनले भने।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई मुलुकको समृद्धिको प्रमुख साझेदारको रूपमा उल्लेख गर्दै युवापुस्ताको ऊर्जा उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा उपयोग गर्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने धारणा व्यक्त गरे।

महासंघले आयोजना गर्न लागेको यस संवादले सरकार, राजनीतिक नेतृत्व, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले महासंघले निरन्तर छलफल, अन्तरक्रिया र पैरवी गर्दै आएको छ। सोही प्रयासको निरन्तरताका रूपमा महासंघले हालै “राष्ट्रिय आर्थिक बहस २.०” सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ।