सुरक्षा निकायले नयाँ सवारी साधन खरिदका लागि जारी गरेको टेन्डरमा टाटा, महिन्द्रा र जीलीको रिडारा इलेक्ट्रिक पिकअपले बाजी मारेका छन्। जेनजि आन्दोलनमा जलेका र आगामी निर्वाचनका लागि आवश्यक गाडी खरिद गर्न सुरक्षा निकायले कुल १ अर्ब रुपैयाँ खर्च गर्नेछ।
टेन्डर अन्तर्गत टाटाको १५० युनिट, महिन्द्राको ७५ युनिट र रिडाराको १० युनिट गाडी छनोट भएका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले तीनै कम्पनीलाई गाडी आपूर्ति गर्न जिम्मेवारी दिइसकेका छन्।
गत भदौ २३–२४ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका धेरै सवारी साधनमा क्षति पुगेपछि नयाँ गाडी खरिद अनिवार्य भएको थियो। सरकारी खरीदले अटोमोबाइल बजारमा पनि सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।
महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटका उपनिर्देशक बरदान बस्नेतका अनुसार, “सरकारी निकायले खरिद गर्ने १ अर्ब रुपैयाँ बराबरको गाडी कारोबारले बजारलाई चलायमान बनाउनेछ।”
इलेक्ट्रिक पिकअप सेग्मेन्टमा जीलीको रिडारा पिकअप प्रति युनिट ५५ लाख रुपैयाँमा टेन्डर पाएको छ। रिडाराका गाडी सुरक्षा निकायको आवश्यकतानुसार साइरन, सिट हुट जस्ता अतिरिक्त एक्सेसरिज थप गरी डेलिभरी गरिनेछ।
प्रहरीको दोस्रो टेन्डरमा टाटाले १०० युनिट गाडी करिब ४२ करोड रुपैयाँमा ठेक्का पाएको छ। सशस्त्र प्रहरीको लागि पनि ५० युनिट टाटाको गाडी खरिद हुने भएको छ।
