नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ औपचारिक रूपमा घोषणा गरेको छ। बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लक्षित विशेष रणनीति सार्वजनिक गरेका छन्।
सीईओ जोशीका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल आएका छन्। “बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,” उनले भने।
उद्घाटन समारोह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए।
सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान रहेको जानकारी दिए, जुन गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको हो। उनले जेन्जी आन्दोलनपछिको अवधिमा ८ वटा मुख्य पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारण, ९ भाषामा यात्रा सूचना प्रकाशन, ६९ वटा पूर्वाधार विकास, र ४१ वटा कार्यक्रम तथा विकास गतिविधि सञ्चालन भएको जानकारी दिए।
एनटीबीले २०२६ का लागि ७ प्रमुख यात्रा प्रवृत्ति सार्वजनिक गरेको छ—शान्त वातावरण, जेन–एआई प्रशासन, विश्वासमा आधारित छनोट, सडकमार्ग प्राथमिकता, अत्यधिक व्यक्तिगत अनुभव, अफ–ग्रिड गन्तव्य, र संस्कृति प्राथमिकता।
जोशीले आगामी २०२६–२०३५ रणनीतिक कार्ययोजना, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति, स्थानीय–वैश्विक अनुभव मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने, र उच्च मूल्य पर्यटनमा केन्द्रित हुने रोडम्याप प्रस्तुत गरे।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्र र सरकारसँग समन्वयमा कार्यक्रम केन्द्रित रहेको बताए भने कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारी वृत्ति विकास र आर्थिक विनियमावलीमा सुधारको आवश्यकता औंल्याए।
कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वर्ल्ड टुरिजम नेटवर्क र यूएन टुरिजमबाट भिडियो सन्देश दिइएको थियो। कार्यक्रममा बोर्डको वार्षिक प्रकाशन इन–फोकस पनि विमोचन गरिएको थियो।
