काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ ।
विहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए ।
भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले वार्ता सकारात्मक भएको बताएका छन् । वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । यसैगरी सरकार र प्रसाईं समूहबीच आइतबार सम्झौता गर्ने सहमति भएको छ । वार्तापछि पत्रकारसँग बोल्दै प्रसाईंले आइतबारसम्म सरकारले समय मागेको दाबी गरे ।
प्रसाईंले भने, ‘मैले गम्भीर तरिकाले कुरा राखेको छु । उहाँहरूले आइतबारसम्म समय माग्नुभएको छ, त्यसदिनसम्म सहमति नभए आन्दोलनमा जान्छौँ । जसमा जेनजीको सरकारले अहिले ११ सय जेनजीहरुलाई थुनामा राखेको छ । यसमा मैंले सरकारलाई प्रश्न गरेको छु–गर्न खोजेको के भनेर ?’
यसैगरी उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग राखेको सुनाए । यसैगरी उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने बताए ।
उनले भने, ‘हाम्रो अन्तिम म्यान्डेट ठूलो छैन । मागहरु ठूला छैनन् । घर–जग्गा लिलाम नगरिदेउ, सुकुम्बासी नबनाइदेउ, तिर्ने मौका देउ भनेका हौं । भदौ २३ र २४ गतेको घटनाका मान्छेहरुलाई जसले ‘कु’ गरेका छन् तिनीहरुलाई कारवाही गर भनेका हौं । जसले भ्रष्टाचार गरेका छन् तिनीहरुलाई कारवाही गर भनेका हौं । तर सरकारले गर्न सक्दैनौं भन्यो भने आशा मार्दा हुन्छ, त्यसको आशै नगर्दा हुन्छ ।’
