बीवाईडीको उडान, विश्व ईभी बजारमा नयाँ कीर्तिमानको संकेत

चिनियाँ इलेक्ट्रिक सवारी निर्माता बीवाईडी (BYD) ले अमेरिकी कम्पनी टेस्लालाई उछिन्ने दिशामा महत्वपूर्ण फड्को मारेको छ। सन् २०२५ को वार्षिक बिक्रीका आधारमा बीवाईडी विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल (ईभी) विक्रेता बन्ने तयारीमा पुगेको हो, जसले विश्व ईभी बजारमा सकारात्मक र निर्णायक परिवर्तनको संकेत दिएको छ।

बीवाईडीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा कम्पनीको ब्याट्री–चालित कार बिक्री करिब २८ प्रतिशतले वृद्धि हुँदै २२ लाख ५० हजारभन्दा बढी पुगेको छ। यस उपलब्धिले बीवाईडीलाई विश्व ईभी बजारको अग्रस्थानमा पुर्‍याएको कम्पनीको दाबी छ।

उता, एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। तर यसअघि सार्वजनिक भएका विश्लेषकहरूको अनुमानअनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार सवारी साधन मात्र बिक्री गरेको देखिन्छ, जुन बीवाईडीको तुलनामा निकै कम हो।

विश्लेषकहरूका अनुसार सन् २०२५ टेस्लाका लागि मिश्रित चुनौतीको वर्ष रह्यो। नयाँ मोडलप्रति अपेक्षाकृत कमजोर बजार चासो, एलन मस्कका राजनीतिक गतिविधिप्रति उठेको असन्तोष तथा चिनियाँ ईभी कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाले टेस्लाको बिक्रीमा दबाब सिर्जना गरेको छ।

बिक्री बढाउने प्रयासस्वरूप टेस्लाले गत अक्टोबरमा अमेरिकामा आफ्ना दुई सबैभन्दा धेरै बिक्री हुने मोडलका सस्तो संस्करण सार्वजनिक गरेको थियो। यसअघि नयाँ र सस्तो मोडल ल्याउन ढिलाइ गरेको भन्दै कम्पनी आलोचनामा पर्दै आएको थियो।

यसैबीच, विश्वकै धनी व्यक्ति एलन मस्कमाथि आगामी दशकमा टेस्लाको बिक्री र सेयर बजार मूल्य उल्लेखनीय रूपमा बढाउने दबाब पनि बढेको छ। नोभेम्बरमा सेयरधनीहरूले स्वीकृत गरेको पारिश्रमिक सम्झौताअनुसार मस्कले अधिकतम १ ट्रिलियन अमेरिकी डलर बराबरको पारिश्रमिक पाउन सक्ने सम्भावना छ। टेस्लाबाहेक मस्क सामाजिक सञ्जाल प्लेटफर्म एक्स, अन्तरिक्ष कम्पनी स्पेसएक्स र बोरिङ कम्पनीजस्ता विभिन्न व्यवसायको समेत नेतृत्व गरिरहेका छन्।

उता, चीनको शेन्जेनमा मुख्यालय रहेको बीवाईडी पछिल्ला वर्षहरूमा तीव्र गतिमा विस्तार हुँदै विश्व ईभी उद्योगको शक्तिशाली खेलाडी बनेको छ। प्रतिस्पर्धी कम्पनीको तुलनामा सस्तो मूल्यमा सवारी साधन उपलब्ध गराउँदै आएको बीवाईडीले ल्याटिन अमेरिका, दक्षिण–पूर्वी एसिया र युरोपका विभिन्न मुलुकमा आफ्नो बजार विस्तार गरेको छ।

चिनियाँ ईभीमाथि धेरै देशले उच्च भन्सार शुल्क लगाए पनि बीवाईडीको विस्तार भने रोकिएको छैन। गत अक्टोबरमा बीवाईडीले बेलायत चीन बाहिरको सबैभन्दा ठूलो बजार बनेको जानकारी दिएको थियो। कम्पनीका अनुसार सेप्टेम्बरसम्मको एक वर्षमा बेलायतमा बीवाईडीको बिक्री ८८० प्रतिशतले वृद्धि भएको छ। यस वृद्धिको प्रमुख कारण ‘सिल यू’ प्लग–इन हाइब्रिड एसयूभीप्रतिको उच्च माग रहेको छ।