पर्यटनमा सकारात्मक लय, नेपालले ११ लाख नाघ्यो

सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को एक वर्षको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्।

सरकारले सन् २०२५ का लागि १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि सो लक्ष्य पूरा हुन सकेन। यद्यपि अघिल्लो वर्षको तुलनामा भने पर्यटक आगमनमा सुधार आएको बोर्डले जनाएको छ। सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ११ लाख ४७ हजार ५६७ रहेको थियो।

वर्षको अन्तिम महिना डिसेम्बरमा मात्रै ९८ हजार १९० जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या सन् २०२४ को सोही महिनाको तुलनामा ७ प्रतिशतले बढी हो।

गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ ले करिब एक महिनासम्म नेपालको बाह्य पर्यटन क्षेत्रमा असर पारेको भए पनि त्यसका बाबजुद सन् २०२५ मा समग्र पर्यटक आगमन वृद्धि भएको बोर्डको तथ्यांकले देखाएको छ।

भारत शीर्ष स्थानमा

सन् २०२५ मा पनि छिमेकी मुलुक भारत नेपाल भ्रमण गर्ने पर्यटकहरूको सूचीमा पहिलो स्थानमा रहेको छ। भारतबाट २ लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटकको २५.२ प्रतिशत हो।

दोस्रो स्थानमा अमेरिका रहेको छ। अमेरिकाबाट १ लाख १२ हजार ३१६ जना पर्यटक नेपाल आएका छन्, जसको हिस्सा ९.७ प्रतिशत रहेको छ। यसैगरी चीनबाट ९५ हजार ४८० जना (८.२ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन्। चौथो स्थानमा बेलायत रहँदै त्यहाँबाट ५८ हजार ६ सय ८४ जना पर्यटक नेपाल आएका छन्।

यस्तै बङ्गलादेशबाट ५७ हजार ५ सय ४५, अस्ट्रेलियाबाट ४९ हजार ३ सय ५७, श्रीलंकाबाट ३७ हजार ५ सय ५०, थाइल्यान्डबाट ३० हजार २ सय ४३, जर्मनीबाट ३० हजार २ सय २७ र जापानबाट २४ हजार ७ सय ६३ जना पर्यटक नेपाल आएका छन्।

क्षेत्रीय आधारमा आगमन

क्षेत्रीय वितरण हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३५.२ प्रतिशत पर्यटक नेपाल आएका छन्। अन्य एसियाली मुलुकहरूको हिस्सा २१.९ प्रतिशत रहेको छ भने युरोपबाट १९.१ प्रतिशत पर्यटकले नेपाल भ्रमण गरेका छन्।

यसैगरी अमेरिकाबाट ११.७ प्रतिशत, ओशिनिया क्षेत्रबाट ४.६ प्रतिशत, मध्यपूर्वबाट १.८ प्रतिशत र अफ्रिकी मुलुकहरूबाट ०.४ प्रतिशत पर्यटकको आगमन भएको छ। बाँकी ५.५ प्रतिशत पर्यटक अन्य विभिन्न मुलुकहरूबाट आएका छन्।

आसियानतर्फ नयाँ लक्ष्य

नेपाल पर्यटन बोर्डले सन् २०२६ लाई ‘आसियान पर्यटन वर्ष’ घोषणा गरेको छ। यो अभियानअन्तर्गत आसियान क्षेत्रबाट पर्यटक आगमन कम्तीमा ५० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ। हाल आसियान क्षेत्रबाट वार्षिक करिब १ लाख हाराहारी पर्यटक नेपाल आउने गरेका छन्। यसमा थाइल्यान्ड, म्यानमार, भियतनाम, कम्बोडिया लगायतका देशहरू प्रमुख रहेका छन्।