स्विट्जरल्यान्डको एक चर्चित स्की रिसोर्टमा नयाँ वर्षको उत्सवका क्रममा भएको भीषण आगलागीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ११५ जनाभन्दा बढी गम्भीर घाइते भएका छन्। दक्षिणी स्विट्जरल्यान्डस्थित क्रान्स–मोन्टाना रिसोर्टमा रहेको ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी भएको हो।
स्थानीय समयअनुसार राति करिब १:३० बजे नयाँ वर्षको पार्टी चलिरहेका बेला बारमा आगो लागेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहे पनि यो कुनै आक्रमण नभएको अधिकारीहरूले स्पष्ट पारेका छन्। बीबीसीका अनुसार आगलागीका बेला बारभित्र ठूलो संख्यामा मानिस उपस्थित थिए।
घटनापछि व्यापक उद्धार कार्य सञ्चालन गरिएको थियो। १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र करिब १५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ। आगलागी भएको भ्याले क्षेत्र पर्यटकहरूका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो।
क्षेत्रीय गभर्नर म्याथियास रेनार्डका अनुसार धेरै घाइतेलाई गम्भीर जलन भएको छ। तीमध्ये ६० जनालाई भ्यालेकै सियोन अस्पतालमा भर्ना गरिएको छ। अस्पतालको सघन उपचार कक्ष भरिएकाले स्थानीय बासिन्दालाई अनावश्यक रूपमा अस्पताल नआउन आग्रह गरिएको छ। गम्भीर अवस्थाका केही घाइतेलाई लोजान, ज्युरिख र जेनेभा जस्ता सहरका विशेष बर्न युनिट भएका अस्पतालमा सारिएको छ।
चिकित्सकहरूका अनुसार केही घाइते १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती हुन् र उनीहरूलाई तेस्रो दर्जाको गम्भीर जलन भएको छ। मृतक तथा घाइते विभिन्न देशका नागरिक रहेको बताइएको छ। क्षेत्रीय प्रहरी कमाण्डर फ्रेडरिक गिस्लरले मृतकहरूको पहिचान गरी सकेसम्म चाँडो परिवारलाई शव हस्तान्तरण गर्नु प्राथमिकता रहेको जानकारी दिएका छन्।
यसैबीच, इटालीले आफ्ना १६ नागरिक अझै बेपत्ता रहेको र १२ देखि १५ जनाको उपचार भइरहेको जनाएको छ। फ्रान्सले पनि आफ्ना केही नागरिक बेपत्ता हुन सक्ने आशंका गरेको छ। मृतक तथा घाइतेको यकिन संख्या र उनीहरूको राष्ट्रियता अझै पुष्टि हुन बाँकी छ।
क्रान्स–मोन्टाना सन् १९८० को दशकमा विश्वकप स्किइङ आयोजना गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको लक्जरी रिसोर्ट हो। दशकौँ पुरानो ‘ले कन्स्टेलेसन’ बारमा तल्लो तलामा नाचगान र माथिल्लो तलामा खेलकुद हेर्ने व्यवस्था रहेको बताइएको छ।
घटनाप्रति बेलायत, फ्रान्ससहित युरोपेली संघका नेताहरूले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, आवश्यक सहयोगका लागि आ–आफ्ना सरकारहरू तयार रहेको जनाएका छन्।
