बीमा नियमनमा पारदर्शिता: एयरमार्कमा एपीआई इन्टिग्रेशन सुरु

नेपाल बीमा प्राधिकरणको आयोजना तथा प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन सम्बन्धी जानकारी दिनु, सुझाव सङ्कलन गर्नु र बैंक तथा वित्तीय संस्थाहरूलाई प्रणालीमा आवद्ध हुन आग्रह गर्नु रहेको थियो।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले कार्यक्रममा बताएअनुसार, प्राधिकरणले जारी गरेको बीमकको लगानी सम्बन्धी निर्देशन, २०८२ अनुसार बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा गरिएको लगानी प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने व्यवस्था अनुसार प्रणाली संचालनमा आएको हो।

सुवेदीले भने, “एयरमार्क प्रणालीले स्वचालित रूपमा बीमकका सही विवरण मात्र स्वीकार्छ, त्रुटिपूर्ण विवरण अस्वीकार गर्छ र स्वचालित रूपमा फिर्ता पठाउँछ। यसले बैंकबाट हुने मुद्दती ब्लक/अनब्लक प्रक्रिया पूर्ण रूपमा स्वचालित बनाउँछ।”

उनले थपे, एपीआई इन्टिग्रेशन प्रविधिको प्रयोगले मुद्दती निक्षेपको प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउने तथा बीमा नियमन र निरीक्षण कार्यमा पारदर्शिता र दक्षता थप्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले आगामी दिनमा प्रणालीलाई अझ प्रभावकारी बनाइने र सबै बैंक तथा वित्तीय संस्थालाई आवद्ध हुन आग्रह गरे। उपनिर्देशक राजेन्द्र महर्जनले एयरमार्कको वर्तमान अवस्था, समस्या र समाधान प्रयासबारे प्रस्तुतीकरण गरे भने उपनिर्देशक रविन्द्र श्रेष्ठले प्राविधिक पक्ष र सफ्टवेयर सम्बन्धी जानकारी दिएका थिए।

सहायक निर्देशक गोकुल राज दहालले सञ्चालन गरेको कार्यक्रममा विभिन्न बैंक, वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए।