‘डिजी स्कुल’ अभियानले विद्यालय शिक्षामा डिजिटल क्रान्ति

नेपालका विद्यालयहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको ‘डिजी स्कुल’ अभियानले प्रभावकारी प्रगति गर्दैछ। डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार, अभियानले प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याएको छ।

अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम र विद्यार्थीका लागि डिजिटल सीप विकास कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै सिकाइ प्रक्रियालाई रोचक र प्रभावकारी बनाएको श्रेष्ठले जानकारी दिए।

विशेष गरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारमा अभियानले प्राथमिकता दिएको छ। शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम दिइएको छ भने विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिएको छ।

अभियानले २५० विद्यालयका विद्यार्थीहरूलाई लाभान्वित गरेको छ र आगामी दिनमा अझ धेरै विद्यालयलाई डिजिटल सञ्जालमा जोड्दै ‘डिजिटल रूपमा सक्षम पुस्ता’ तयार गर्ने लक्ष्य राखिएको छ। यसले विद्यालय प्रशासनलाई विद्यार्थी अभिलेख, उपस्थिति, शैक्षिक प्रगति र अभिभावकसँगको समन्वय सुदृढ बनाउन समेत सहयोग पुर्‍याएको छ।

स्थापनाको ५ वर्ष प्रवेशको अवसरमा डिजी स्कुलले विद्यार्थी लक्षित डिजी मेडिकल सेवा, विद्यालयमै स्वास्थ्य परीक्षण र समूह दुर्घटना बीमा जस्ता कार्यक्रम पनि सुरु गरेको छ।

शिक्षा क्षेत्रमा डिजिटल रूपान्तरण अपरिहार्य हुँदै गएको वर्तमान सन्दर्भमा ‘डिजी स्कुल’ अभियानलाई सरकारी, निजी र सामुदायिक विद्यालयबीच सहकार्यको उदाहरणका रूपमा हेरिएको छ। यस अभियानले नेपालको शिक्षा प्रणालीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।