जनमत पार्टीले पुस १४ गते निर्वाचन आयोगमा आफ्नो समानुपातिक (PR) उम्मेदवारको सूची बुझाएको छ। पार्टीले कुल ११० जनाको नाम पेश गरेको छ। सूचीमा सबैभन्दा बढी मण्डल थरका उम्मेदवार छन्। १७ जना मण्डलका उम्मेदवार, १० जना साह, र ७ जना सिंह थरका उम्मेदवारहरू समावेश छन्।
आदिवासी जनजाति समूह महिलातर्फ अंजली देवी मण्डल, रेखा कुमारी मण्डल, रेखा देवी मण्डल, लक्ष्मी कुमारी मण्डल, प्रेमशीला देवी मण्डल, आशा देवी मण्डल रहेका छन्। पुरुषतर्फ कृष्णचन्द्र मण्डल, सुवोध कुमार मण्डल, धिरज कुमार मण्डल, बलराम मण्डल, नथुनी मण्डल, रावाबाबु मण्डल, रविन कुमार मण्डल, महेश मण्डल छन्।
दलित समूहमा अनिता कुमारी मण्डल (महिला) र रमेन कुमार, राजाराम मण्डल (पुरुष) रहेका छन्।
थारु समुदायबाट ११ जना उम्मेदवार समावेश छन्, जसमा कोशिला थारु, दिलमाया कुमारी चौधरी, सत्यदेव चौधरी, श्रवण कुमार चौधरी, बाल गोबिन्द चौधरी, बुद्धिराम माझी, पंच नारायण चौधरी, सरस्वती थारु, शिला कुमारी चौधरी, निर्मला कुमारी चौधरी, जोगमाया थारु रहेका छन्।
नेपाली निर्वाचन प्रणाली अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट छानिन्छन् भने १६५ जना प्रत्यक्ष तर्फ निर्वाचित हुन्छन्। समानुपातिक तर्फको मनोनयन पुस १३ र १४ गते सम्पन्न भएको थियो।
निर्वाचन आयोगले पेस भएका दलहरूको सूचीको छानबिन गर्दै छ। पुस २० गतेसम्म आयोगले कानुन अनुसार दलहरूको बन्दसूचीमा नाम भए/नभएको अध्ययन गर्नेछ। पुस २० गते दलहरूलाई सूचनापत्र पठाइनेछ भने पुस २७ गतेसम्म संशोधनको समय दिइनेछ।
उम्मेदवारले नाम फिर्ता लिन पुस २८ गतेसम्म समय पाउनेछन्। यदि कसैले फिर्ता लिन्छ भने रिक्त स्थानमा सोही समूहको अर्को उम्मेदवारको नाम पुस ३० गते सम्म आयोगमा पेश गरिनेछ।
अन्तिम बन्दसूची माघ ४ गते प्रकाशित हुनेछ। उम्मेदवारको योग्यता सम्बन्धी दावी–विरोध माघ ५ देखि १० गतेसम्म पेश गर्न सकिनेछ। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुनेछ। आयोगले माघ ११–१७ गते दावी–विरोधको जाँच गरी माघ २० गते अन्तिम सूची प्रकाशन गर्नेछ। मतदान फागुन २१ गते हुने तय भएको छ।
