चुनावलाई लक्षित गरेर नयाँ राजनीतिक शक्तिहरूबीच एकता भएसँगै तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सहकार्यको कसरत सुरु गरेका छन्। राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका विषयमा उनीहरूबीच छलफल चलिरहेको छ।
संविधान निर्माणकर्ता दलहरूबीच सहकार्यको वातावरण बनाउने भन्दै कांग्रेसले यसको पहल लिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतका रुपमा नेता रमेश लेखकलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने जिम्मेवारी दिएका छन्।
लेखकले एमाले अध्यक्ष ओलीलाई भेटेर संविधान निर्माणकर्ता दलबीच सहकार्यको प्रस्तावबारे दुई पटक छलफल गरिसकेका छन्। पछिल्लो पटक लेखकले आज शुक्रबार ओलीलाई भेटेका थिए।
लेखकले यसै साता नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा लामो छलफल गरेका थिए।
‘राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने विषयमा संविधान निर्माणकर्ता दलबीच छलफल भइरहेको छ। राजनीतिमा सम्भावना नहुने भन्ने हुँदैन,’ लेखकले भने, ‘यो आसन्न प्रतिनिधिसभा निर्वाचनसम्म पनि जान सक्छ।’
स्रोतका अनुसार लेखकको प्रस्तावमा ओली, प्रचण्ड र नेपाल सकारात्मक छन्।
अहिले छलफलको केन्द्रमा भने राष्ट्रिय सभा निर्वाचन छ। यसअघि एमाले र नेकपा दुवैले कांग्रेससँग राष्ट्रिय सभामा तालमेल गर्ने प्रयास गरेका थिए। एमालेलाई लेखकको प्रस्तावपछि नै एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने धारणा राखेका थिए।
नेपाली कम्युनिस्ट पार्टीका प्रचण्ड निकट नेता रामप्रसाद सापकोटाले लेखकले केही दिनअघि प्रचण्डलाई भेटेको बताए।
‘रमेश लेखकले राष्ट्रिय सभामा सहकार्य गरेर जाऊँ भन्नुभएको हो। हुन्छ सल्लाह गरौँ भनेर प्रचण्डले भन्नुभयो,’ सापकोटाले भने, ‘राष्ट्रिय सभामा हाम्रो मत पुग्दैन नि त। त्यही भएर प्रचण्डले सल्लाह गरौँला भन्नुभएको हो।’
राष्ट्रियसभा निर्वाचनमा एमाले, नेकपा र मधेसवादी दललाई पनि समेटेर लैजानुपर्ने कांग्रेसको प्रस्ताव छ।
‘तर, एमाले अध्यक्ष ओली कांग्रेस र एमाले मात्र मिलेर जानुपर्ने बताइरहेका छन्,’ ।
माघ ११ गतेका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।
राष्ट्रिय सभाका १९ सदस्यको म्याद फागुन २१ गतेदेखि सकिँदै छ। जसमा एमालेका ८, मनोनीत वामदेम गौतमसहित नेकपाका नेकपाका ९, जनता समाजवादी पार्टी नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना छन्। ११ गते १८ सदस्यको निर्वाचन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
छलफलमा सहभागी नेताहरूका अनुसार निर्वाचन हुने १८ सिटमा दलीय हैसियत अनुसार राष्ट्रियसभामा भागबण्डा गर्ने तयारी छ। कांग्रेसलाई ८, एमालेलाई ६, नेकपालाई ३ र मधेसवादी दललाई १ सिट बाँडफाँट गर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
ओली र प्रचण्ड दुवैले लेखकसँगको छलफलमा नयाँ राजनीतिक दलको संविधानप्रतिको प्रतिबद्धता प्रस्ट नभएकाले संविधान निर्माणकर्ता दल एक ठाउँमा आउनुपर्ने बताएका थिए।
नयाँको विपक्षमा नभई कांग्रेस, एमाले र नेकपाबीचको सहकार्य देश विकास र संविधानको पक्षमा हो भनेर भाष्य निर्माण गरेर जानुपर्नेमा देउवा, ओली र प्रचण्डको एक मत छ। ओली र प्रचण्डसँग फेरि एकाध पटक छलफल गरेपछि तीनै पार्टीका दोस्रो तहका नेताहरू बसेर सहकार्यको खाका तयार गरिने स्रोतले बतायो।
संविधान निर्माणकर्ता दलबीच सहकार्य गर्नु आजको आवश्यकता भएको भन्दै यसका लागि कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइराला पनि तयार छन्।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संविधान पक्षधरहरू, वर्तमान व्यवस्था ल्याउन सहकार्य गरेका दलहरूबीच पुनः एक पटक आपसी एकता र सहकार्य जरुरी रहेको बताए।
‘हिजो योगदान गरेका दलहरूबीच सहकार्यको वातावरण बनाउनुपर्छ भन्दा कांग्रेस त्यसमा बाधक बन्दैन। दलहरूका बीचमा सैद्धान्तिक छलफल हुनुपर्छ,’ उनले भने, ‘आम नेपाली जनताको भावना के छ भने यो अराजकता, अस्थिरता र विध्वंसका विरुद्धमा स्थापित राजनीतिक दलहरू, वैचारिक आधारमा गठन भएका दलहरू एक ठाउँमा बस्नुपर्छ र प्रतिवाद गर्नुपर्छ, यस्तो देश चलाउने शक्तिलाई परास्त गर्नुपर्छ।’
यद्यपि, तालमेलका विषयमा पर्याप्त छलफल हुनुपर्ने विश्वकर्माले बताए।
‘अस्ति कांग्रेस–एमाले मिलेकाले अहिलेको परिस्थिति बनेको पनि हुनसक्छ। यो संवेदनशील विषय छ। यसबारे अलि छलफल गर्नुपर्छ,’ उनले भने, ‘गठबन्धन गर्दा मत साटिन्छ कि साटिँदैन? मत कति प्रतिशत ट्रान्सफर हुन्छ? त्यो पनि हामीले पार्टीभित्र छलफल गर्नुपर्छ। जित्ने साथीहरू गठबन्धन गरिहालौँ भन्नुहुन्छ। तर, धेरैले टिकट पाउनुहुन्न। टिकट नपाएपछि उहाँहरू नै असन्तुष्ट बन्नुहुन्छ। त्यो कुरामा हामीले ख्याल गरिराखेका छौँ।’
रास्वपा, उज्यालो नेपाल र बालेन शाहको समूहबीच एकता भएपछि पुराना राजनीतिक दलबीच सहकार्यको गृहकार्य सुरु भएको हो। तीन ठूला दल आपसमा लड्दा ‘बतासे’हरूले मौका पाउनेतर्फ सचेत हुनुपर्ने विश्वकर्माको सुझाव छ।
‘रवि, बालेन र कुलमानको दलबीच विचार र कार्यक्रमको एकता होइन। त्यसो हुँदा उनीहरूसँग तर्सिने कि नतर्सिने भन्ने एउटा कुरा छ,’ विश्वकर्माले भने, ‘अर्को कुरा, भोलि संविधान संशोधन गर्नुपर्छ, देशलाई स्थिरता दिनुपर्छ भने मुख्य दलहरू नै आपसमा कडाकडी प्रतिस्पर्धामा उत्रिँदा कतै यस्तै बतासेहरूले पो मौका लिन्छन् कि भन्ने चिन्ता पार्टीभित्र र बाहिर दुवै ठाउँमा छ। यसलाई मध्यनजर राखेर भरपर्दो, विश्वासिलो र परिणाममुखी सहकार्यको आवश्यकता छ।’
भोट ट्रान्सफर हुनेगरी सहकार्य गरिनुपर्ने र राष्ट्रिय सभामा मतभार पनि हेरिने उनले बताए।
‘राष्ट्रिय सभामा जोसँग मिल्यो, पछि पनि उसैसँग सहकार्य हुन्छ,’ उनले भने।
नेपालखबरबाट साभार
