सोल्टी होटलका सेयरधनीलाई आकर्षक लाभांश

सोल्टी होटल लिमिटेडले सेयरधनीलाई साढे १६ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्ने निर्णय गरेको छ। होटलको ५१औँ वार्षिक साधारण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेको हो।

सभाबाट कम्पनीको चुक्ता पुँजीको १६.५७८९४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। साथै, सञ्चालक समितिको प्रस्तावअनुसार सेयरधनीलाई १५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने र सोही अनुरूप चुक्ता पुँजी वृद्धि गर्नसमेत सभाले स्वीकृति प्रदान गरेको छ।

वार्षिक साधारण सभाले वैधानिक लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि पारित गरेको छ। यसका अतिरिक्त सर्वसाधारण सेयरधनीहरूबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति दिएको छ।

सभाबाट पारित भएका निर्णयहरूले कम्पनीको संस्थागत सुशासन, पूँजी संरचना मजबुत बनाउने र सेयरधनीको हित संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।