एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनमार्फत पूँजी विस्तार गर्ने तयारी थालेको छ। बैंकले हकप्रद शेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंकसँग पूर्व सहमतिका लागि औपचारिक रूपमा अनुरोध गरेको छ।
बैंकको आज बसेको ७४६औँ सञ्चालक समिति बैठकले हकप्रद शेयर निष्काशनका लागि राष्ट्र बैंकबाट स्वीकृति माग्ने निर्णय गरेको हो। उक्त जानकारी बैंकका कम्पनी सचिव कमल खड्काले दिएका छन्।
निर्णयअनुसार बैंकले २:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ। यसअनुसार हाल १४ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशनपछि बैंकको पूँजी आधार थप सुदृढ हुने, नियामक आवश्यकताहरू सहज रूपमा पूरा गर्न सहयोग पुग्ने र दीर्घकालीन व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
